कोरोना महामारीले टी ट्वान्टी विश्वकप स्थगित, एकदिवसीय विश्वकप पनि सारियो

  साउन ०६, २०७७

काठमाडौं, साउन ५ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित गरेको छ । कोरोना महामारीले निर्धारित तिथिमै विश्वकप क्रिकेट प्रतियोगिता सहज वातावरणमा खेलाउन सम्भव नभएपछि स्थगित गरिएको हो ।

आईसीसीको सोमबार बसेको परिषद्को बैठकले आगामी अक्टोबर र नोभेम्बर महिनाका लागि निर्धारित विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरेको हो ।

आईसीसीको सोमबार बसेको बैठकले आगामी अक्टोबर महिनाको १८ तारेखबाट सुरु भई नोभेम्बर १५ सम्मका लागि निर्धारित टी ट्वान्टी विश्वकप स्थगित गर्ने निर्णय गरेको छ ।

उक्त प्रतियोगिता अष्ट्रेलियाले आयोजना गर्ने तय गरिएको थियो । आईसीसीको बोर्ड बैठकले प्रतियोगिताको आयोजना सम्बन्धमा कुनै निर्णय गरेको छैन् । सन् २०२१ को टी ट्वान्टी विश्वकप भारतले आयोजना गर्ने तय भएको छ ।

सन् २०२० को विश्वकप स्थगित हुन पुग्दा विश्वकपको आगामी संस्करणको आयोजनालाई लिएर क्रिकेट अष्ट्रेलिया र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) बीच सहमति हुन नसक्दा आईसीसीले आयोजनालाई लिएर कुनै निर्णय गर्न सकेनन ।

त्यसैगरी, आईसीसीले अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकपको आयोजना मिति समेत सारेको छ । बैठकले सन् २०२३ को फेब्रुअरी र मार्च महिनाको लागि तय भएको अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकप अक्टोबर–नोभेम्बर महिनामा गर्ने गरी सारेको छ ।

आईसीसीले टी ट्वान्टी विश्वकप, न्युजिल्याण्डमा आयोजना हुने महिला टी ट्वान्टी विश्वकप र एकदिवसीय विश्वकपको तालिका र आयोजकलाई लिएर थप छलफल गरी निर्णय गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया