मुस्ताङमा वर्षाले सडक अवरुद्ध, ४८ परिवार विस्थापित

  साउन ०६, २०७७

बेनी, साउन ६ : निकै कम वर्षा हुने भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष भने अत्याधिक वर्षाका कारण सडकहरु अबरुद्ध हुदा अन्य जिल्लाबाट मुस्ताङ प्रवेशका लागि सिधा सम्पर्क रोकिएको छ । मुस्ताङ प्रवेशका लागि एक मात्र सडक मार्ग बेनी जोमसोम सडक खण्ड पूर्ण रुपमा अबरुद्ध भए सँगै मुस्ताङ प्रवेश गर्ने र बाहिरीने मार्ग बन्द भएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालका अनुसार सडक यातायात म्याग्दी सँग जोडिएको अवस्थामा काभ्रे भर, घोप्टेभिर, रुप्से झरनामा पहिरो र बाढीले सडक रोकिएसँगै मुस्ताङ प्रवेश गर्ने सबै मार्ग अबरुद्ध भएका हुन् । “डोल्पा तथा मनाङबाट प्रवेश गर्ने मार्ग सहज नभएको मुस्ताङका लागि एक मात्र भरपर्दो माध्यम भनेकै सडक थियो त्यो पनि रोकिए पछि अब पुरै सम्पर्क बिच्छेदको अवस्था छ,” प्रजिअ अर्यालले भन्नुभयो ।

वर्षात्को कारणले गर्दा आएको बाढी पहिरोले गर्दा मुस्ताङको थासाङ गाउँपालिकाको २ र ४ नम्बर वडाका ४८ परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको प्रजिअ अर्यालले बताउनुभयो । प्रजिअ अर्यालका अनुसार घाँसाका २ घर र २ गोठ पहिरोले पूर्ण रुपमा क्षती भएको छ । गोठ भत्किँदा १ गाइ र १ भैसी मरेको प्रजिअ अर्यालले बताउनुभयो । अहिले सम्म मानविय क्षती भएको छैन भौतिक क्षति ठूलो मात्रामा भयो अर्यालले भन्नुभयो ।

मुस्ताका प्रदेश सभा सांसद चन्द्रमोहन गौचनका अनुसार बिस्थापित हुनेलाई स्थानिय जनता आधारभूत विद्यालय र छिमेकीहरुको घरमा सुरक्षित तबरले राखिएको छ । कालिगण्डकी तथा अन्य खोलाहरुमा पनि पानीको बहाब बढेकोले जिल्लाका सुरक्षा निकायको टोली सहित क्षतिको स्थलगत अनुगमन शुरु भएको नेकपा मुस्ताङका अध्यक्ष समेत रहुनभएका सांसद गौचनले बताउनुभयो ।

थासाङ गाउँपालिका लेतेका स्थानिय बासिन्दा एवम् मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनका अनुसार घाँसा क्षेत्रको खानेपानी तथा विद्युत सेवा अवरुद्ध भएको छ । तुलाचनका अनुसार थासाङ–४ र ३ को सिमानामा पर्ने घैकु खोला बढेर सडक अबरुद्ध भएको छ । त्यस्तै लेते खोला बढ्दा आवतजावतमा समेत समस्या भएको छ । साथै बेनी जोमसोम सडकको घाँसा नजिकै कुनाघाटमा रहेको निर्माणाधीन पुल पहिरोले बगाएको छ । निर्माण सम्पन्न हुनै लागेको उक्त पुल पहिरोले बगाएको तुलाचनले बताउनुभयो । बेनी जोमसोम सडक खण्डको घोप्टेभिरमा सडकको बेसै सहित पहिरोले सडक बगाएको छ ।

त्यसैगरी बेनी जोमसोम सडकको म्याग्दी खण्ड तर्फको मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा पहिरोले पुरै बगाएको अन्नपुर्ण गाउँपालिका–३ दानाका स्थानीय इन्द्रसिंह सेरचनले बताउनुभयो । म्याग्दीबाट मुस्ताङ प्रवेश गर्ने म्याग्दीको अन्नपुर्ण गाउँपालिका दानामा पर्ने रुप्से झरनाले पुल बगाउनुका साथै काभ्रे भिरमा पनि सडक अबरुद्ध भएपछि म्याग्दीबाट मुस्ताङ प्रवेश गर्ने रुट पूर्ण रुपमा अबरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया