एफ ए कपको उपाधिको लागि आर्सनल र चेल्सी भिड्ने

  साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : चेल्सी एफ ए कप प्रतियोगिताको फाइनलमा पुगेको छ । सेमीफाइनलमा म्यान्चेष्टर युनाइटेडलाई ३–१ ले हराउँदै चेल्सी एफ ए कपको उपाधिको होडका लागि स्थान सुनिश्चित गरेको छ ।

फ्रयाङ्क लाम्पार्डको चेल्सीले म्यान्चेष्टर यूनाइटेडमाथि खेल अवधिभरि पूर्ण नियन्त्रण कायम गरेको थियो । चेल्सीले यूनाइटेडको लगातार १९ खेलसम्मको अपराजित यात्रालाई समेत विराम लगायो ।

यूनाइटेडका लागि ब्रुनो फर्नान्डेसले पेनाल्टी क्षेत्रबाट गर्नुभएको प्रहार गोलमा परिणत भएपनि सान्त्वनामा सीमित रहन गयो । ८४ औँ मिनेटमा कैलम हडसन ओडोइले एन्थोनी मार्सललाई लडाएपछि यूनाइटेडले पेनाल्टीको अवसर पाएको थियो ।

चेल्सीका लागि ओलिभर जिराडले पहिलो हाफको अतिरिक्त समयमा पहिलो गोल गर्दै महत्वपूर्ण अग्रता दिलाउनुभयो । मेसन माउन्टले ४६ औं मिनेटमा अग्रतालाई दोब्बर गर्नुहुँदै चेल्सीलाई २–० को अवस्थामा पुर्याउनुभयो । कप्तान हयारी मग्वैरले मार्कस अलोन्सोको क्रसलाई आफ्नै पोष्टमा छिराउँदा चेल्सीले अग्रतालाई ३–० बनायो ।

एफ ए कपको उपाधिको लागि आर्सनलले अगष्ट १ मा चेल्सीको सामना गर्नेछ । आर्सनलले सेमीफाइनलमा म्यान्चेष्टर सिटीलाई पराजित गरेर उपाधिको होडमा स्थान सुनिश्चित गरेको छ ।

तपाईको प्रतिक्रिया