बेलायतले कोभिड–१९ विरुद्धको सम्भावित खोपको नौ करोड खुराक खरिद गर्ने

  साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : बेलायतले कोभिड–१९ विरुद्धको सम्भावित खोपको नौ करोड खुराक खरिद गर्ने सम्झौता गरेको छ । बेलायत सरकारले सोमबार खोप र औषधी उत्पादक कम्पनीहरू बायो एनटेक, फिजर र भाल्नेभासँग सम्झौता गरेको जनाएको छ ।

द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार बेलायतको अर्थ सचिव आलोक शर्माले बेलायतले घरेलु भूमिमा उत्पादन भइरहेको तीन प्रकारको खोपमा पहुँच बनाएको जानकारी दिनुभयो । उसले खोप सम्बन्धमा अध्ययनका लागि स्वयंसेवकका लागि आवेदन खुलाइएको बताउनुभयो ।

बायो एनटेक र जर्मन उत्पादक फिजरले करिब तीन करोड तथा फ्रान्सको भल्नेभाले छ करोड खोप उत्पादनको प्रकृयामा रहेको छ । बेलायत सरकारले यसअघि नै औषधी उत्पादक आष्टाजेनेकाले अक्सफोर्ड विश्वविद्यालयसँगको समन्वयमा परीक्षण गरिरहेको खोपमध्ये दश करोड खरिद गर्ने जनाइसकेको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट बेलायत सबैभन्दा बढी प्रभावित राष्ट्रहरूमध्ये एक हाे । बेलायतमा कोभिड–१९ को सङ्क्रमणबाट करिब ४५ हजार व्यक्तिको ज्यान गएको छ । विश्वभरि करिब सात दर्जनभन्दा बढी औषधी उत्पादक कोभिड–१९ को खोप विकासका लागि प्रयासरत रहेका छन् ।

तपाईको प्रतिक्रिया