बन्दाबन्दीले लक्ष्यभन्दा पौने दुई अर्ब कर सङ्कलन घट्यो

  साउन ०५, २०७७

नेपालगञ्ज, साउन ५ : कोभिड-१९ को महामारीका कारण गरिएको लामो बन्दाबन्दीले गर्दा बाँकेमा कर सङ्कलन अत्यधिक प्रभावित भएको छ । बन्दाबन्दीको गत चार महिनाको अवधिमा सबैभन्दा कम कर सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जले जनाएको छ । 

आर्थिक वर्ष २०७६/०७७ का लागि आन्तरिक राजस्व कार्यालय नेपालगञ्जलाई पाँच अर्ब नाै करोड ५८ लाख ७७ हजार रुपियाँ कर सङ्कलन गर्ने लक्ष्य प्राप्त भएकोमा बन्दाबन्दीका कारण सो अवधिमा तीन अर्ब ४७ करोड ९१ लख ९६ हजार रुपियाँ मात्र कर सङ्कलन गर्न सकिएको आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेलले बताउनुभयो ।

उहाँले बन्दाबन्दी कारण निर्धारित लक्ष्यको ६८ प्रतिशत मात्र कर सङ्कलन गर्न सकिएको जनाउँदै एक अर्ब ६१ करोड ६६ लाख कम कर सङ्कलन भएको बताउनुभयो ।  विगतका वर्षहरूमा लक्ष्यभन्दा बढी कर सङ्कलन गर्दैआएको सो कार्यालयले गएको आर्थिक वर्षमा लक्ष्यभन्दा ३२ प्रतिशत कम कर सङ्कलन गरेको छ ।  अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा तीन अर्ब ५१ करोड ३९ लाख ७८ हजार रुपियाँ कर सङ्कलनको लक्ष्य दिईएकोमा तीन अर्ब ६० करोड ३५ लाख ३५ हजार रुपियाँ सङ्कलन गरेर लक्ष्य भन्दा दुई प्रतिशत बढी सङ्कलन गरिएको थियो ।  तर, गत आर्थिक वर्षमा कोभिड १९ का कारण लक्ष्य भन्दा ३२ प्रतिशत कम कर सङ्कलन भएको बाँके र बर्दिया दुई जिल्ला हेर्ने सो कार्यालयले जनाएको छ ।

सो कार्यालयका प्रमुख पौडेलका अनुसार बन्दाबन्दी शुरु भएको चैत महिनामा लक्ष्य भन्दा ८० प्रतिशत कम कर सङ्कलन भएको थियो भने बैशाख महिनामा त ९३ प्रतिशत कम कर सङ्कलन भएको थियो । सोही प्रकारले जेठ महिनामा ६८ प्रतिशत कर सङ्कलन घटेको थियो ।  तर, असारमा भने अन्य तीन महिनाको तुलनामा केही बढी सङ्कलन भएको जनाउँदै प्रमुख पौडेलले सो महिनामा लक्ष्यको ८४ प्रतिशत सङ्कलन भई १६ प्रतिशत मात्र कम सङ्कलन भएको बताउनुभयो ।  चालु आर्थिक वर्षमा गत आर्थिक वर्ष भन्दा बढी कर सङ्कलन हुने विश्वास गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया