पृथ्वी राजमार्गमा ५० ठाउँमा पहिरो, मौवा खोलाले पुल बगायो

  साउन ०५, २०७७

धादिङ, साउन ५ : अविरल वर्षाका कारण धादिङ र चितवन जिल्ला जोड्ने पृथ्वी राजमार्गको मौवा खोलाको पुल भत्किएको छ । आइतबार बेलुकीदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोका कारण धादिङतर्फको पुल भत्किएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभएको छ । लगातार परेको वर्षाले धादिङतर्फको पुल भत्किएको छ । राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य स्थल पृथ्वी राजमार्गको पुल भत्किँदा सवारीसाधन आवतजावत ठप्प भएको छ ।

पृथ्वी राजमार्गको धादिङ खण्डमा ५० भन्दा बढी स्थानमा पहिरो गएको छ । राजमार्गमा पर्ने हुग्दीखोला आसपास क्षेत्र, बादरेखोला, बैरेनी, चालिसे, फूर्केखोला, छहरेलगायत क्षेत्रमा राजमार्गभन्दा माथिबाट लेदो आएर थुप्रिएका कारण राजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग र मलेखु धादिङ बेंसीको कालुपाण्डे राजमार्गको विभिन्न ठाउँमा खसेको पहिरोले राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । पहिरोका कारण पृथ्वी राजमार्गको आवतजावत बन्द भएको छ । लगातारको वर्षाका कारण पहिरो पन्छाउन निकै कठिन भएको खड्काले जानकारी दिनुभएको छ । वर्षा रोकिएमा मङ्गलबार साँझसम्म राजमार्गमा रहेको पहिरो हटाउन सकिने खड्काले जानकारी दिनुभएको छ ।

पहिरोले पुरिँदा एकको मृत्यु
पहिरोले घर पुरिँदा घादिङमा एक जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका वडा नं २ स्थित मजुवाडाँडामा पहिरो जाँदा स्थानीय १७ वर्षीया निरुता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिनुभएको छ ।

पहिरोमा बेपत्ता भएको शव फेला परेको खड्काले बताउनुभयो । पहिरोले बेनीघाट रोराङ गाउँपालिका वडा नं ८ धुसाटारमा स्थानीय निशा चेपाङको घर भत्किँदा पाँच वर्षीया छोरी सङ्गीता चेपाङ गम्भीर घाइते हुनुभएकाे छ । घाइतेको राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया