सर्लाही डुबानमा, पूर्व–पश्चिम राजमार्गमा समेत बाढी

  साउन ०५, २०७७

सर्लाही, साउन ५ : सोमबार मध्यान्हको भीषण वर्षापछि सर्लाहीमा डुबानको समस्या व्यापक भएको छ । जिल्लामा आइतबारदेखि नै झरी परिरहेको भएपनि सोमबार मध्यान्ह तीन घण्टा बढी निरन्तर भीषण वर्षा हुँदा जिल्लाभर नै डुबानको समस्या देखिएको हो ।

सदरमुकाम मलङ्गवाको भाडसर गाउँ पूरै डुबानमा परेको छ । भाडसरमा हरेक वर्ष लखन्देही खोलाको बाढी पसेर स्थानीय बासिन्दाको बिचल्ली पार्दैआएको छ । ढलको राम्रो व्यवस्था नहुँदा सदरमुकाम मलङ्गवा बजारकै धेरैजसो निजी घर र सरकारी कार्यालयहरूमा समेत वर्षाको पानी पसेको छ ।

सोमबार दिउँसो भाडसर क्षेत्रमा पुगेर फर्किनुभएका सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवरले त्यहाँका अधिकांश घरहरू डुबानमा परेका र पानी धेरै जमेकाले भाडसर गाउँदेखि अगाडि जान नसकिएको बताउनुभयो । जिल्लाको उत्तरी भेगको तुलनामा दक्षिणी भेगमा डुबानको समस्या बढी देखिएको छ ।

पानीको राम्रोसँग निकास नहुने क्षेत्रमा रहेका दर्जनौँ घरहरू डुबानमा परेका छन् । विभिन्न स्थानमा कच्ची सडकहरू भत्किएका छन् भने घरमा पानी पसेर खाद्यान्नलगायतका सरसमानमा क्षति गरेको पीडितहरूले बताएका छन् । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले मध्यान्हको भीषण वर्षापछि जिल्लामा डुबानको समस्या सुरु भएको बताउनुभयो । ्र

उत्तरी भेगका लालबन्दी, नवलपुर र हरिवनमा पूर्व–पश्चिम राजमार्गका लच्काहरूमा बाढी आएको छ । राजमार्गमा आएको बाढी पसलमा पस्दा लालबन्दी बजारका केही व्यवसायी प्रभावित भएका छन् । लालबन्दीको बजार क्षेत्र र वडा नं. ९ बस्तीपुर क्षेत्रमा डोजर लगाएर पानीलाई निकास दिइएको छ ।

लालबन्दीकै वडा नं. १ जुटपानीमा विद्यालयको पर्खाल भत्किँदा भित्र जम्मा भएको पानी घरहरूमा पसेको स्थानीय पूजा काफ्लेले जानकारी दिनुभयो । मध्यान्हको भीषण वर्षापछि जिल्लाको बाग्मती, लखन्देही, फूल्जोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिमलगायत खोलाहरूमा ठूलो बाढी आइरहेको छ । खोलाले केही स्थानमा खेतीयोग्य जमिन कटान गर्न थालेको किसानहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया