सप्तकोशी र खाँडो नदीको बाढीले दुई सय बढी घर जलमग्न

  साउन ०५, २०७७

राजविराज, साउन ५ : पछिल्लो दुई दिनयता अविरल वर्षासँगै सप्तरीको सप्तकोसी, खाँडो, बलान, महुली, जीता लगायतको नदीमा आएको बाढीले दुई सयभन्दा बढी घर परिवार प्रभावित भएको छ ।

खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको वार्ड नम्बर १, बेल्हीका ५०, वडा नम्बर ४ र ५ कोइलाडी र बरझुलाका एक सय घरमा पानी पसेको सो गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो ।

बस्तीमा बाढी पसेपछि उठीबासको अवस्था भएको उहाँले भन्नुभयो, ‘खाँडोमा बाढीले खतरा तह पार गरिसकेको थियो । तर, अहिले बाढी कम भएको छ ।’ अझै पानी सतह बढेमा ती बस्तीका बासिन्दाहरूलाई उच्च स्थानमा सार्नुपर्ने उहाँले बताउनुभयो ।

खाँडो नदीमा आएको बाढीले खतरा तह पार गरेपछि तिलाठी कोइलाडी गाउँपालिका-३, सकरपुरास्थित खाँडो नदीको तटबन्धका स्परमा कटान सुरु भएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले भन्नुभयो, ‘बाढी कम भएपछि बाँधमा कटान पनि कम भएको छ ।’ खाँडोको बाढीले बनरझुला, कोइलाडी लगायत तीन/चार स्थानमा सडकमा क्षति पु-याएको उहाँले बताउनुभयो ।

त्यस्तै जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सप्तकोसी नदीको पूर्वी तटबन्ध छेउमा बसोबास गर्दै आएका करिब ५० घर सप्तकोसीको बाढीले डुबानमा परेको छ । यसैगरी राजविराज नगरपालिका वडा नम्बर २, ५ र ६ का बस्तीमा वर्षाको पानी पसेपछि जलमग्न भएको छ । त्यस्तै जिल्लाको बलान, खडक, महुली, जिता नदीमा बाढी चाप उच्च रहेको छ । नदी आसपासका बस्तीमा पानी पसेको बताइएको छ ।

यता यसअघि नै जिल्लाको टापु भनेर चिनिने हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबगाढा बस्तिमा सप्तकोसी नदीको बाढी पस्दा ७५ परिवार विस्थापित भएका थिए । प्रहरीको सहयोगमा ती परिवारलाई उद्धार गरी उच्च स्थानमा रहेको राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा राखिसकेको वडा अध्यक्ष बिन्देश्वर यादवले जानकारी दिनुभयो ।

जिल्लाको विभिन्न बस्ती जलमग्न भएपनि खतरा आइनपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बाढीको कारण आउन सकिने सङ्कट व्यवस्थापनका लागि सुरक्षाकर्मी राहत, उद्धारका सामग्रीसहित तयारी अवस्थामा रहेको सप्तरी प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिनुभयो ।

सप्तकोसीमा बहाव कम
चुरे तथा पहाडी क्षेत्रमा वर्षा कम भएको कारण सप्तकोसी नदीमा बहाव कम रहेको बताइएको छ । कोसी ब्यारेजमा एक लाख ४१ हजार क्वूसेक प्रति प्रतिसेकेन्ड पानीको बहाव मात्र रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कोसीमा पानीको बहाव कम रहेकोले १९ वटा ढोका मात्र खोलेको बताइएको छ ।

जिल्लाका अन्य नदीहररूमा पानीको बहाव बढेपछि सो क्षेत्रका बस्तीका बासिन्दा त्रसित भएका छन् । नदीहरूको बहाव खतरामुक्त रहेको भएपनि सर्तकता अपनाएर बस्न स्थानीय प्रशासन, जिल्ला सङ्कट व्यवस्थापन समितिले सर्वसाधारणलाई आग्रह गरिससकेको छ ।

धानबाली डुबानमा
लगातार वर्षाले सयौँ विगाह धानबाली डुबानमा परेको छ । जिल्लाको सकरपुरा, रम्पुरा मलहनिया, तिलाठी, हनुमाननगर लगायतका स्थानमा धानबाली डुबानमा परेको छ । धाबाली डुबानमा पर्दा गलेर नोक्सान हुने कृषकहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया