पहिरोको पूर्वतयारी कठिन

  साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : जारी रहेको मनसुनले ल्याउने सम्भावित विपद्विरुद्ध लड्न सरकार र सरोकारवाला निकाय तीव्र तयारी गरिरहेका छन् । पहिरो आएको खण्डमा तत्काल उद्धार र राहतका लागि सम्बन्धित स्थानीय र जिल्ला विपद् व्यवस्थापनलाई तयारी अवस्थामा राखिएको छ ।

पहिले भूकम्प गएका, पहिरो गएका र सम्भावित क्षेत्रको अवलोकनका भरमा त्यस क्षेत्रमा नबस्न र उच्च सतर्क रहन भनिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले बताउनुभयो ।

“सक्रिय मनसुनसँगै बढ्दो बाढी र डुबानको उच्च जोखिमलाई दृष्टिगत गर्दै तराईका २३ जिल्लामा पूर्वतयारी तम्तयार राखेका छौँ,” पोखरेलले भन्नुभयो । उहाँका अनुसार तराईको बाढी र डुबानमा परेकालाई उद्धार गर्न ५० जना सक्रिय गोताखोर तयार छन् । रबरका डुङ्गा १९१ वटा, मोटरबोट तप १४ वटा पठाइएको छ । जसले ठूला डुबान र बाढीमा परेकालाई तत्काल उद्धार गरेर बचाउन सकिने उहाँले बताउनुभयो । त्यस्तै, काठका स्थानीय रूपमै उपलब्ध डुङ्गासँगै प्रहरी तथा सेनाको उद्धार टोली नदी तटीय क्षेत्रमा तैनाथ गरिएको छ ।

हरेक जिल्लामा पत्र र फोन गरेरै विपद्मा जुट्न भनिएको छ । पोखरेलका अनुसार कोसी क्षेत्रमा हरेक वर्ष देखिने जटिल डुबान र बाढीको विषयमा दुई स्थानमा अलिक अप्ठेरो रहेको छ । कोसीको दुई धारको बीचमा रहेको गोबरगाढाका बासिन्दालाई मनसुनभर अन्यत्र सर्न भनिए पनि नमानेका कारण सङ्कट बढेको छ । “बसेको थातथलो छोड्न चाहँदैनन्, हामी पानीसँगै हुर्केको बढेको भनेर जवाफ दिन्छन्, सम्पत्ति र गाईबस्तु छाडेर जान मान्दैनन्,” उहाँले भन्नुभयो ।

अर्को क्षेत्र कोसीको पश्चिम क्षेत्रको सप्तरीमा बढी खतरा छ । त्यहाँको तटबन्ध कमजोर छ । जुन भारतीय पक्षले बनाउनुपर्ने हो । स्थानीय प्रमुख जिल्ला अधिकारीसहितले दैनिक अनुगमन गर्ने र ब्यारेजका अधिकारीसँग समन्वय गरिरहेको जानकारी पोखरेलले दिनुभयो ।

तपाईको प्रतिक्रिया