दार्चुलाको परिगाउँमा पहिरोमा आमा-छोरी बेपत्ता

  साउन ०५, २०७७

दार्चुला, साउन ५ : दार्चुलाको नौगाड गाउँपालिका-६ परिगाउँमा पहिरो जाँदा स्थानीय महिला मानमती ठगुन्ना र बालिका रेवती ठगुन्ना बेपत्ता हुनुका साथै करोडौँका भौतिक क्षती भएको छ । वेपत्ता हुनेमा ३५ वर्षीया मानमती ठगुन्ना र उहाँकी छोरी ६ वर्षीया रेवती ठगुन्ना रहेको स्थानीय सन्तोषसिह ठगुन्नाले जानकारी दिनुभयो ।

पहिरोले परिगाउँमा मात्रै आबि परिगाउँको विद्यालय भवन, २८ बाख्रासहित बाख्रा फर्म, तीन वटा पानी घट्ट बगाएको छ । स्थानीयका तीन घर पूर्ण रुपमा क्षती हुनुका साथै पाँच परिवारको खेतबारी बगाएको छ । पाँच परिवारको घर पहिरोको उच्च जोखीममा रहेको ठगुन्नाले बताउनुभयो ।

परिगाउँमा मात्रै नभइ नौगाड गाउँपालिकाको वडा नम्बर १, २ र ३ लगायत विभिन्न बस्तीमा बाढी, पहिरोले ठूलो क्षति गरेको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभयो । दार्चुलाको नौगाड गाउँपालिकामा वर्सेनि बाढी र पहिरोका कारण धनजनको क्षति हुनुका साथै प्राकृतिक विपद् निम्तिने गरेको छ । अहिले घटनास्थलमा उद्धारका लागि स्थानीयसंगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली समेत खटिएको अध्यक्ष धामीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया