तराईमा भारी वर्षा, अन्यत्र मध्यम झरी, बाढी र डुबान सुरु

  साउन ०४, २०७७

काठमाडौँ, साउन ४ : मनसुनी न्यूनचापीय रेखा नेपालमाथि आइपुग्दा देशभर व्यापक झरी परिरहेको छ । झरीसँगै तराईका क्षेत्रा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

मध्य तराई र पश्चिम तराईमा भारी वर्षा भइरहेको छ, काठमाडौँ लगायत पहाडी भेगमा मध्यम वर्षा भइरहेको छ, मौसमविद वरुण पौडेलले भन्नुभयो । उहाँका अनुसार प्रदेश नम्बर ५ को तराई क्षेत्र, बाग्मती प्रदेशको तराई क्षेत्र र प्रदेश २ को तराई क्षेत्रमा भारी वर्षा भइरहेको छ । पश्चिमको कञ्चनपुरसहितका एकाध स्थानमा कम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले चार दिनअघि नै अबको केही दिन लगातार वर्षा हुने पूर्वसूचना दिएको थियो । सोही अनुसार अबको चार दिन केही भेगमा अधिक वर्षासमेत हुनसक्ने सम्भावना औँल्याइएको छ । साथै सम्बन्धित सरोकारवालालाई विपदविरुद्ध पूर्वतयारी थाल्न अपिल गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले पनि अबको साउन ५ देखि ९ गतेसम्म कन्काइ, कोसी, बाग्मती, नारायणी, तिनाउ, बबई, पश्चिम राप्ती र प्रदेश १,२ र ५, बाग्मती तथा गण्डकी प्रदेश भई बहने नदीमा बाढीको उच्च जोखिम औँल्याएको छ । बाढी र डुबान हुने नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भन्दै मोबाइल म्यासेजसमेत पठाइएको छ । काठमाडौँमा लगातारको वर्षाले स्थानीय नदीमा बहाव बढेको छ । नालामा समेत पानी बढेर केही क्षेत्रमा जलमग्न बनेको छ ।

विगत २४ घण्टाको वर्षाको अवस्था हेर्दा देशभरका १७२ स्टेसनमा वर्षा भएको पाइएको छ । कपिलवस्तुको वाणगङ्गा स्टेसनमा सबैभन्दा बढी ११७ मिलिमिटर वर्षा मापन भएको छ । अन्य केन्द्रमा पनि १० देखि एक सय मिलिमिटरसम्मको वर्षा भएको मापनकेन्द्रले बिहान आठ बजेसम्मको तथ्य पठाएको छ ।

२४ घण्टामा दुईको मृत्यु
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत २४ घण्टामा दुइ जनाको खोलाले बगाएर मृत्यु भएको छ । यस अवधिमा आगलागी, पहिरो, बाढी, जङ्गली हात्तीको आक्रमणसहित १८ वटा घटना भएका छन् । साथै निरन्तरको वर्षासँगै विभिन्न क्षेत्रमा बाढी र डुबान भएका सूचना आएको उसले जनाएको छ ।

बेँशीसहर चामे सडकखण्ड, अछामको मध्यपहाडी लोकमार्ग र बझाङको जयपृथ्वी राजमार्ग गरी विभिन्न तीन स्थानमा पहिरोका कारण सडक अवरुद्धसमेत भएको छ । यस अवधिमा १७ लाख बढीको भौतिक क्षति भएको प्राधिकरण प्रमुख अनिल पोखरेलले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया