२४ घण्टामा दुई लाख ६० हजार नयाँ संक्रमित, मृतक ६ लाख नाघ्यो

  साउन ०४, २०७७

काठमाडौं, साउन ४ : विश्वभरि पछिल्लो चौबीस घण्टामा करिब दुई लाख ६० हजार कोभिड–१९ सङ्क्रमितको पुष्टि भएको छ । गत् डिसेम्बरमा चीनमा सुरु भएको कोरोनाको प्रकोप यता चौबीस घण्टामा पुष्टि भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । यससँगै सङ्क्रमित हुने एक करोड ४२ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारी संख्यामा थपिएका सङ्क्रमितमध्येका अधिकांश संयुक्त राज्य अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ३६० जना सङ्क्रमितको मृत्यु भएको छ । यो मई १० यताकै सबैभन्दा बढी मृत्यु भएको तथ्याङ्क हो । अमेरिकामा ३७ लाख व्यक्तिमा कोभिड–१९ बाट सङ्क्रमणको पुष्टि भएको छ । ११ लाख सङ्क्रमित निको भई घर फर्केका छन् ।

अमेरिकाको फ्लोरिडा राज्य कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभाबित बनेको छ । दैनिक दश हजारभन्दा बढी सङ्क्रमितको पुष्टि हुँदै आएको छ । चौबीस घण्टामा ९० सङ्क्रमितको मृत्यु भएको छ । फ्लोरिडामा मात्रै पाँच हजार जनाले ज्यान गुमाएका छन् ।

ब्राजिलमा सङ्क्रमित हुनेको संख्या २० लाख ७४ हजार ८६० पुगेको छ । ७८ हजार ७२२ जना कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका छन् । पछिल्लो चौबीस घण्टामा करिब २८ हजार नयाँ सङ्क्रमित थपिदा ९२१ जनाको मृत्यु दत्र्ता गरिएको छ ।

दक्षिण अफ्रिकामा पछिल्लो चौबीस घण्टामा १३ हजार २८५ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै दक्षिण अफ्रिकामा सङ्क्रमण पुष्टि हुने तीन लाख ५० हजार ८७९ पुगेको छ । हालसम्म दक्षिण अफ्रिकामा चार हजार ९४८ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिका अमेरिका, ब्राजिल, भारत र रुसपछि पाँचौं सबैभन्दा बढी प्रभाबित राष्ट्र बनेको छ ।

मृतक छ लाख नाघ्यो
विश्वभरि कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या छ लाख नाघेको छ । समाचार संस्था अलजजिराले जोन हप्कीन्स विश्वविद्यालयको तथ्याङ्क उल्लेख गर्दै आइतबार बिहानसम्म कोरोना सङ्क्रमणले मृत्यु हुने छ लाख एक हजार २१३ जना पुगेको जनाएको छ । करिब ७९ लाख सङ्क्रमित निको भएका छन् । अमेरिकाको ५० राज्यमध्ये ४३ राज्यमा कोरोना सङ्क्रमणको प्रकोप फैल्दा मृत्यु हुनेको संख्या एक लाख ४० हजार पुगेको छ ।

तपाईको प्रतिक्रिया