नेकपा सचिवालय बैठक : समस्या समाधानका लागि थप छलफल गर्न सुझाव

  साउन ०३, २०७७

काठमाडौँ, साउन ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको आन्तरिक सङ्कट सहमतिकै आधारमा अन्त्य गर्नेगरी छलफल अगाडि बढाएको छ । दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म चार घण्टा लामो छलफलमा आन्तरिक मतभेद अन्त्य गर्ने विविध कोणबाट छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आइतबार ३ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठकमा सहमतिको सन्देश दिने उद्देश्यले बसेको सचिवालय बैठकमा सङ्कट अन्त्यको विविध कोणबाट छलफल भएपनि ठोस सहमति भने नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । “पार्टी एकता रक्षा र सुदृढ गर्दै जनताको जनादेशअनुसार काम गर्नेगरी पार्टीको सङ्कट निवारण गर्न थप छलफल गर्ने निर्णय भएको छ” उहाँले भन्नुभयो । बैठकमा अध्यक्षसहित नेताहरूले विभिन्न विचार प्रस्तुत गर्नुभएको र समस्याको समाधान सहमतिकै आधारमा निकालौँ भन्ने भएको उहाँले बताउनुभयो ।

राम्रोसँग छलफल भएको र अझै व्यवस्थित ढङ्गले प्रस्तावहरू बैठकमा आएपछि थप छलफल हुने उहाँले प्रष्ट पार्नुभयो । पत्रकारको जिज्ञासापछि नेकपाको केन्द्रीय कमिटी बैठक बोलाउनेबारे भने निर्णय नभएको उहाँले जानकारी दिनुभयो । 

प्रधानमन्त्रीको राजीनामाको विषयमा पत्रकारको प्रश्नको जवाफ त्यो विषय कुनै प्रस्ताव नबनेको र निर्णयार्थ प्रस्तुत पनि नभएको बताउनुभयो । भोलि स्थायी समितिको बैठक निर्धारित समयमै हुने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया