बेनी, साउन ३ : अविरल वर्षात्का कारण आएका बाढीको कटानले एकातर्फको भाग गत असार २६ गते बिहान भत्किएपछि ढलेको राहुघाट खोलाको बेलिब्रिज मर्मत नहुँदा बेनी जोमसोम सडकमा ९ दिनदेखि सवारी सञ्चालन हुन सकेको छैन ।
मुस्ताङका लागि हवाइ अनि बेनी जोमसोम सडक मार्ग नै बाह्य क्षेत्र सँग जोड्ने माध्यम हो । हवाइ यातायात समेत ठप्प भएको वर्तमान अवस्थामा स्थल मार्गको एक मात्रै रुट बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएपछि आवतजावतमा समेत समस्या भएको छ ।
कोरोना भाईरसको कारणले लकडाउनको अवस्था रहेको भएपनि अत्यावश्यक सामग्री तथा एम्बुलेनस लगायतका यातायातका साधन समेत चल्न सकेको छैन । बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ पिप्ले जोड्ने पुल गत असार २६ गते बिहान राहुघाट नदिले भत्काएको थियो ।
नेपाली सेनाले खोलेको पाइलट ट्रयाक निर्माणको क्रममा सेनाले बनाएको उक्त बेलिब्रीजलाई जोगाउन पक्की लठोले अड्याएको भए पनि त्यसलाई सवारी सञ्चालन गर्ने अवस्था बनाउनका समय लाग्छ । बाढीले एकापट्टीको भाग भत्काएकाले त्यहाँ रहेको पुलले नपुग्ने मुस्ताङका प्रदेशसभा सांसद चन्द्रमोहन गौचन बताउनुहुन्छ ।
नेकपा मुस्ताङका अध्यक्ष समेत रहनुभएका गौचनले पुलको स्थलगत अनुगमन पछि भन्नुभयो, बेनी–जोमसोम सडक आयोजनाले जति सक्यो चाँडो पुल मर्मत गरेर सवारी सञ्चालनको व्यवस्था गर्नुपर्छ । गौचनले थप्नुभयो, ‘मुस्ताङ तथा उत्तरी म्याग्दीका बासिन्दाहरुका लागि पनि खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुको ढुवानीमा यसले समस्या पारेको छ ।’
म्याग्दी र मुस्ताङको सीमाना रहेको घोप्टेभीरमा पनि पहिरोले गर्दा सडक अबरुद्ध भएको छ । उक्त पहिरो हटाएर सडक निर्माणका लागि नेपाली सेना, नेपाल प्रहरी, सडकले प्रयास गरी रहेका छन् भने स्थानीय युवा क्लब, आमा समूहले पनि जनश्रम तथा अन्य सहयोग गरेको मुस्ताङका प्रतिनिधि सभा सदस्य प्रेम तुलाचनले बताउनुभयो । उक्त सडक खुलाउनका आफूले व्यक्तिगत रुपमा पनि सक्दो सहयोग गर्ने तुलाचनले बताउनुभयो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र मुस्ताङको थासाङ गाउँपालिकाको सिमाना घोप्टेभीरमा ठूलो पहिरोले गर्दा समस्या भएको छ । स्थानीय तह र बेनी जोमसोम सडक आयोजनाले पहिरो हटाउन प्रयास गरी रहेका भए पनि अझै दुई दिन सडक खुलानका लागि घोप्टे भिरमै समय लाग्ने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो मुस्ताङ भित्र सडकमा खासै समस्या नभए पनि म्याग्दी साइडमा रुप्से छहरा नजिकै दुई ठाउँमा पहिरो गएको छ । त्यस्तै अन्नपूर्ण गाउँपालिका–३ दानाको द्वारीखोला नजिकै पहिरोले अबरुद्ध भएको छ । बेनी जोमसोम सडकमा सानाठूला गरी १० स्थानमा सडक मर्मत गर्नु पर्ने अवश्था छ ।