बेगनास ताल फुट्नबाट जोगाउन बाँध निर्माणले गति लियो

  साउन ०३, २०७७

पोखरा, साउन ४ : बेगनासताल जलाधार संरक्षणका लागि तालको बाँध मर्मत कार्य तीब गतिमा अघि बढेको छ । बाँध पुरानो भएर फुट्ने संभावना बढ्दै गएपछि जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय पोखराले बेगनास ताल बाँध तथा आसपासको नहर समेत मर्मत थालेको हो ।

जलस्रोत डिभिजन कार्यालयको बेगनास सिंचाइ प्रणाली कार्यक्रम अन्तर्गत यो काम थालिएको हो । २०४६ सालमा चीनको सहयोगमा सिंचाइ कार्यालयले उक्त बाँध बनाएको थियो । यस अघि बाँधको फेदमा पानीको सिपेज देखिएको थियो । त्यसैगरि, तालको पानीको छाललाइ छेक्न बाँधको किनारमा राखिएका ढुंगाहरु पनि विस्तारै कम हुँदै जान थालेपछि बाँध फुट्ने र आसपासका वस्ती डुबानमा पर्नसक्ने संभावित जोखिम रोक्नका लागि मर्मत गर्न लागिएको जलस्रोत डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले बताउनुभयो ।

बेगनासताल पोखराको फेवाताल पछिको ठूलो र नेपालकै सबैभन्दा गहिरो ताल हो । यो तालको सुन्दरता समेत बृद्धि , तालमा फोहोर गर्ने क्रियाकलाप रोकीइने, र पर्यटकको सुरक्षाका लागि पनि बेगनासतालको बाँध मर्मत संभार अति आवश्यक भएको उहाँले बताउनुभयो ।

यहि कोरोना लकडाउनकै बीच उक्त योजना कार्यन्वयन शुरु भएको हो । बाँध ममर्मतका लागि अहिले त्यहाँ भएका ढुंगाहरुमा अन्य ढुंगा पनि थप गरि जाली बिछ्याउने,ढलान गर्ने, तालको पानि निकास हुने नहरमा रेडिमिक्स गर्ने ंलगायतका कामहरु भइरहेका छन् । तालको पानि निकास हने मोहोरिया, किमबेसी, खुदी , बेसी लगायतका ठाउँमा रहेका नहरहरु पनि मर्मत गरिएको छ । यसका लागि गत वर्ष ठेक्का भएको थियो । कैलाश पर्वत निर्माण सेवा प्रालिले उक्त बाँध मर्मतको ठेक्का पाएर काम गरिरहेको छ ।

जलस्रोत डिभिजन कार्यालय पोखराका प्रमुख आचार्यका अनुसार एक करोड २५ लाख रुंपैंयाको लागतमा उक्त बाँध मर्मत संभार गर्न लागिएको हो । यो काम नयाँ आर्थीक वर्षको पहिलो चौमासिक भित्र सम्पन्न हुने पनि प्रमुख आचाार्यले जनाउनुभयो । यो योजनाको स्थानीय अनुगमन स्थानीय बेगनास जलाधार सिंचाइ उपभोक्त समितिले गरिरहेको छ ।

तपाईको प्रतिक्रिया