नेकपाको सचिवालय बैठक आज ३ बजे

  साउन ०३, २०७७

काठमाडौं, साउन ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने उहाँले बताउनुभयो । नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलएको हो । गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगन हुँदै आएको छ ।

शुक्रबार डाँकिएको स्थायी कमिटी बैठक आइतवारसम्मका लागि स्थगन गरिएको छ । प्रचार विभाग उपप्रमुख थापाले सचिवालय बैंठक अघि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने बताउनुभयो ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी तथा सरकार सञ्चालनमा विवाद देखिएपछि त्यसलाई सल्टाउन सचिवालय बैठक बस्न लागेको हो । असार १० गतेदेखि शुरुभएको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षको राजीनामा माग भएपछि विवाद उत्कर्षमा पुगेको हो ।

विद्यमान विवादलाई सचिवालयमार्फत सल्टाएर पुनः स्थायी कमिटी बैठक सञ्चालन गर्ने उद्देश्यसाथ आजको बैठक आव्हान गरिएको नेताहरुले बताउनुभएको छ । सचिवालय नेकपाको उच्च तहको कमिटि हो । जसमा नौजना नेताहरुको सहभागिता छ । सचिवालयमा पार्टीका दुईजना अध्यक्ष, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, नेता ईश्वर पोखरेल, रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश सदस्य हुनुहुन्छ । स्थायी कमिटी बैठक ४ गते (भोली) ३ बजेका लागि बोलाइएको छ । 

तपाईको प्रतिक्रिया