दानव नदीले धार बदल्यो, बस्ती नै जोखिममा

  साउन ०२, २०७७

भैरहवा, साउन २ : दानव नदीले धार परिवर्तन गरेपछि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२, मर्चवारमा पर्ने भर्थापुर गाउँबस्ती जोखिममा परेको छ । गाउँभन्दा पाँच सय मिटरभन्दा पर रहेको दानव नदी अहिले बस्तीछेउमै आएकाले गाउँ नै जोखिममा परेको स्थानीय मंग्रा धुनियाले बताउनुभयो ।

अहिले यहाँका बासिन्दा आकाशमा कालो बादल देखेर गाउँमा बाढी आउने डरले त्रसित हुन थालेका छन् । अविरल वर्षाले उक्त नदीको दुवै मुहान भरिएर बग्न लागेको देखेर फेरि गाउँ डुबानमा पर्ने डरले उनीहरू कालो बादल देखिनासाथ त्रसित हुन थालेका हुन् । दानव नदीको छेउमा रहेको भरथापुर गाउँमा फेरि पानी पसेर डुबानमा पर्ने डरले ज्यान बचाउन गाउँ छाडेर सुरक्षित ठाउँमा भाग्ने तयारीमा रातभरि जाग्राम बस्नु परिरहेको स्थानीय अजिज धुनियाँले जानकारी दिनुभयो ।

त्यस्तै दानव नदीको छेउमा १५ वर्षदेखि फूसको घर बनाई सात जनाको परिवार पाल्दै आउनुभएकी शहीदुन निशाले बाढीको बेला घरमा विषालु सर्प आउनुका साथै बाटो नहुँदा बाहिर निस्कनसमेत समस्या हुने गरेको बताउनुभयो । त्यति मात्र नभई सोही नदीको छेउमा प्लाष्टिकको छानोभित्र नौ जनाको परिवार पाल्दै आउनुभएका कुमार मल्लाहले पनि घरमा बाढी पस्ने डरले सताउन थालेको दुःखेसो पोख्नुभयो ।

यता, जिल्ला दैवी प्रकोप उद्दार समतिले पनि बाढीबाट हुने सम्भावित क्षति रोक्नका लागि पूर्वतयारी भइसकेको जनाएको छ । आठ वर्षयता दैवी प्रकोप उद्धार समितिले भर्थापुर गाउँलाई रुपन्देहीको पहिलो नम्बरको जोखिमको बस्तीमा राखेको छ । समितिका संयोजक रहनुभएका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले राहत र उद्धारका लागि सुरक्षाकर्मीको टोलीलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया