सोलुखुम्बु, ओखलढुङ्गा र स्याङ्जामा करदाता सेवा कार्यालय स्थापना

  साउन ०१, २०७७

ओखलढुङ्गा, साउन १ : सोलुखुम्बुु र ओखलढुङ्गाका करदाताका लागि ओखलढुङ्गामा करदाता सेवा कार्यालय स्थापना भएको छ । आर्थीक वर्ष २०७७/०७८ बाट निरन्तर सञ्चालन गर्नका लागि साउन १ गतेबाट ओखलढुङ्गा सदरमुकाममा कार्यालय सञ्चालनमा आएको हो ।

करदाता सेवा कार्यालय खुलेसँगै ओखलढुङ्गा र सोलुखुम्बुका करदातालाई सहज हुने भएको छ । दुई जिल्लाका करदातालाई पायक पर्नेगरी ओखलढुङ्गा सदरमुकाममा करदाता सेवा कार्यालय स्थापना भएसँगै दुई जिल्लाका करदातालाई कर तिर्नका लागि सिरहाको लहान जानुपर्ने बाध्यता हटेको छ । करदाता सेवा कार्यालयले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाबाहेक ओखलढुङ्गा र सोलुखुम्बुलाई हेर्ने गरी स्थापना भएको करदाता सेवा कार्यालयका कर अधिकृत कुसुम सिर्मलले बताउनुभयो ।

कार्यालयले व्यक्तिगत स्थायी लेखा नम्बर, व्यावसायिक स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता, अन्त शुल्क दर्ता एवं इजाजत पत्र वितरण जारी तथा नवीकरण, स्थायी लेखा नम्बर लिँदाको विवरण, जानकारी संशोधन तथा कारोबार र शाखा थपघट, मूल्य अभिवृद्धि करण विवरण अन्त शुल्क विवरण र आय विवरण रुजु, कर चुक्ता प्रमाणपत्र, कर समायोजन, स्थायी लेखा नम्बर स्थगन र खारेजी, खरिद खाता बिक्री खाता प्रमाणितलगायतका १४ प्रकारका सेवा दिने सिर्मलको भनाइ छ ।

करदाता सेवा कार्यालयको शुभारम्भ सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले करदाता सेवा कार्यालयको पान प्रमाणपत्र भित्तामा झुण्ड्याएर गर्नुभएको थियो । करदाता सेवा कार्यालय ओखलढुङ्गामा स्थापना भएकोमा खुसी व्यक्त गर्दै दुई जिल्लाका सर्वसाधरणलाई एक हजार पाँच सय कर तिर्न १५ हजार खर्च गर्नुपर्ने बाध्यता हटेको बताउनुभयो ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले करदाता सेवा कार्यालयले जनमैत्री तरिकाले सरल र सहज तरिकाले सेवा प्रवाह गर्न सुझाव दिँदै सबै सरोकारवाला पक्षहरूसँग समन्वय गरेर अगाडि बढ्न निर्देशन दिनुभएको छ ।

यसअघि जिल्लाका व्यवसायीहरूलाई २०७१ सालबाट आन्तरिक राजश्व विभागसँगको सहकार्यमा ओखलढुङ्गा उद्योग वाणिज्य संघले व्यक्तिगत स्थायी लेखा नम्बर, व्यवसायिक अस्थायी लेखा नम्बर दर्ता, नवीकरणलगायतका करसँग सम्बन्धित विषयमा व्यवसायीहरूलाई सहजीकरण गर्दै आएको थियो ।

करदाता सेवा कार्यालय सञ्चालनमा आएपछि ओखलढुङ्गा र सोलुखुम्बुका व्यवसायी उत्साहित भएको ओखलढुङ्गा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताउनुभयो । उहाँले हाम्रो लामो समयदेखिको माग पूरा भएको एक हजार पाँच सय कर तिर्न पनि १५ हजार रुपैयाँ खर्चेर लहान जानुपर्ने बाध्यता हटेको बताउनुभयो ।

करदाता सेवा कार्यालय शुभारम्भ भए पनि उद्घाटन भने पछि गरिने बताइएको छ । ओखलढुङ्गामा पाँच हजार छ सय ५२ र सोलुखुम्बुमा चा्र हजार छ सय दश करदाता रहेको कार्यालयका डायसु सचिनदेव भट्टराईले जानकारी दिनुभयो ।

स्याङ्जामा करदाताका सेवा कार्यालय
आन्तरिक राजस्व कार्यालय पोखराले स्याङजाको पुतलीबजारमा करदाता सेवा कार्यालयको शुभारम्भ गरेको छ । जिल्ला समन्वय समितिको परिसरमा रहको करदाता सेवा कार्यालयले बिहीबारबाट आफ्ना सेवा शुभारम्भ गरेको हो ।

करदाता कार्यालय स्थापनासँगै स्याङ्जा जिल्लाबासीलाई करसम्बन्धी काम गर्न पोखरा धाउनुपर्ने बाध्यता हटेको छ । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख ऋषीराम पोख्रेलले स्याङ्जाका स्थानीय व्यवसायी तथा करदाता सेवा कार्यालयका पहिलो सेवाग्राही नवराज सुवेदीलाई माला र टीका लगाई सेवाको शुभारम्भ गर्नुभएको हो ।

स्याङ्जाबासीको माग र स्याङजा जिल्लामा करदाताको सङ्ख्या धेरै रहेकाले पुतलीबजारमा करदाता सेवा कार्यालय स्थापना गरिएको करदाता सेवा कार्यालयका प्रमुख कर्म लामाले बताउनुभयो । करदाता सेवा कार्यालयबाट नयाँ पान नं., पान नवीकरण र करचुक्ता लिन सकिने कार्यालय प्रमुख लामाले जानकारी दिनुभयो ।

जिल्लाभित्र करिब १५ हजार करदाता रहेको करदाता सेवा कार्यालयले अनुमान गरेको छ । करदाता कार्यालय स्थापना भएपछि धेरैको सङ्ख्यामा करमा आबद्ध हुने करदाता सेवा कार्यालयको अनुमान रहेको छ ।

तपाईको प्रतिक्रिया