साउने सङ्क्रान्ति राँका बाल्दै, लुतो फाल्दै मनाइयो

  साउन ०१, २०७७

खलङ्गा, साउन १ : जुम्लामा परापूर्वकालदेखि मनाउँदै आएको साउने सङ्क्रान्ति राँका बालेर मनाइएको छ । स्थानीयले घरको छत, आँगन र ओटालोमा राँका बाल्दै सङ्क्रान्ति मनाएका हुन् । उनीहरूले परम्परागत रुपमा राँका बाल्दै आफ्नो गाउँ सीधा खोला पारिका गाउँहरूका मानिसहरूलाई गालीसमेत गर्ने चलन अनुसार मनाएका हुन् ।

हरेक घरमा जति परिवार सदस्य छन् त्यति नै राँका बालेर आआफ्नो छत तथा आँगनमा आफू र आफ्नो घरमा रहेको फोहर लैजाउ, रोगव्याधि सबै जावस् भन्ने कामना गर्ने चलन कर्णाली क्षेत्रमा रहेको छ । आज साउन १ गतेबाट कर्णालीका गाउँबस्तीहरू झिसमिसे अँध्यारोमा देवादार र सल्लाको बल्ने दाउराकाे राँका बाल्ने चलन छ ।

यसले यहाँ एक फरक सभ्यता र उदाहरण स्थापित गर्दैआएको छ । आगोको राँका बाल्नेबित्तिकै ठूलो स्वरले घरका सबै परिवारहरूले कराउने र खोला पारिको गाउँका मानिसहरूलाई गाली गर्ने चलन रहेको छ । राँका बालिसकेपछि बनाईएका विभिन्न प्रकारका परिकारहरू खाने प्रचलन पनि छ । यसैगरी दमाहा, तालसमेत बजाउने चलन रहेको छ ।

जुम्ला सदरमुकाम र जिल्लाका गाउँबस्तीहरूमा एकैपटक आगोको राँका बालेर साउने सङ्क्रान्तिको सन्देश दिने चलन पनि यसपटक पनि व्यापक रुपमा झल्कियो । एकै पटक सबैको घरमा परिवार सदस्य अनुसारको हजारौँ आगोको राँका बालेर हेर्दाको दृश्य निकै रौनक देखिन्थ्यो ।

परम्परागत रुपमा नै चल्दैआएको यो प्रथाले निकै ठूलो सभ्यता वोकेको संस्कृतिविद रमानन्द आचार्यले बताउनुभयो । यसैगरी साउन १ गते यो क्षेत्रमा स्थानीय बिदासमेत गर्ने चलन रही आएकोमा यस वर्ष कर्णाली प्रदेश सरकारले राजपत्र अनुसार साउन १ गते बिदा दिने चलन अनुसार बिदा दिएको छ ।

जुम्लाका गाउँबस्तीमा रौनक कम भएका छैनन्। पछिल्लो समयमा जुम्ला सदरमुकाममा नयाँ आधुनिक घरहरू निर्माण भएका कारण टिन र सिमेन्टको छत भएका घरहरूमा आँगन र बाटोमा राँका बाल्ने चलन निरन्तरता दिइएको छ ।

तपाईको प्रतिक्रिया