मेलम्ची सुरुङ दुर्घटना छानविन : सुरुङमा क्षति छैन, ‘नट बोल्ट स्लिप’ हुँदा ढाेका खुल्याे

  साउन ०१, २०७७

काठमाडौँ, साउन १ : मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा भएको दुर्घटनाबारे छानबिन गर्न गठित टोलीले सुरुङको ढोका बन्द गर्न लगाइएको नटबोल्टमा समस्या आएका कारण सो दुर्घटना भएको प्रारम्भिक जानकारी पाइएको जनाएको छ ।

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको समयोजकत्वमा गठित विज्ञहरूसहितको समितिले आजैबाट स्थलगत अध्ययन सुरु गरेको छ । सात दिनभित्र प्रतिवेदन दिन गठित समितिका संयोजक दवाडीले भन्नुभयो, ‘हामीले ठूलै क्षति भएको छ कि भन्ने सोचेका थियौँ तर सो घटनामा सुरुङमा कुनै क्षति भएको पाइएन ।’ 

उहाँले भन्नुभयाे, “मेलम्चीको मुख्य सुरुङपछि कुनै मर्मत गर्नुपरेमा गाडीसमेत जान सक्ने गरी बनाइएको एक्सेस सुरुङको घरको एक पल्ला भएको ढोकाजस्तै फलामको खापा रहेको र एकातर्फ कब्जाहरू रहेको अर्कातर्फ ३० वटा नटबोल्टले टाइट गरिएको रहेछ । त्यसमा पानीको प्रेसरले बोल्टहरू स्लिप भएर ढोका खुलेको देखियो । ढोकाको पल्ला पनि जस्ताको तस्तै छ । खाली नटले काम नगरेको पाइयो ।”

उहाँको टोलीले स्थलगत अध्ययन गर्नुका साथै डिजाइनहरू पनि जाँच गरी प्रतिवेदन तयार पार्नेछ । सो सुरुङको ढोका भारतीय कम्पनीले निर्माण गरेको र त्यसलाई डेनिस कम्पनीले पास गरेको थियो । परीक्षणका क्रममा मङ्गलबार सुरुङको १७ नम्बर ढोका एक्कासि खुल्दा पानीले बगाएर दुई जना घाइते हुनुभएको थियो भने एक जनाको मृत्यु भएको छ र अर्का एक जना अझै बेपत्ता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया