कीर्तिपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न

  साउन ०१, २०७७

काठमाडौं, साउन १ : आर्थिक वर्षको अन्तिम दिन आसर ३१ गते कीर्तिपुर नगरपालकाको सातौं नगर सभा सम्पन्न भएको छ । गत असार १० गते कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र उप–प्रमुख सरस्वती खड्काले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी सुरु भएको यस नगरसभाको पहिलो चरणमा नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।

प्रस्तुत नीति तथा कार्यक्रम र अनुमानित बजेटउपर असार १७ गते दोस्रो चरणको सभामा छलफल गरी नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरिएको थियो । असार २५ गतेभित्र बजेटसहित सम्पन्न गर्नुपर्ने भए पनि स्थगित भई बुधबार अन्तिम दिन सम्पन्न गरेको छ ।

आज अन्तिम चरणको सभा नगर प्रमुख रमेश महर्जनको सभाअध्यक्षतामा भएको थियो । आजको सभामा उप–प्रमुख सरस्वती खड्काले आव ०७७÷७८ को बजेटसमेत प्रस्तुत गरेकी थिइन् । चालुतर्फ ४८ करोड २५ लाख १५ हजार र पुँजीगत तर्फ नगरपालिकाले ५५ करोड १९ लाख ९९ हजार र १० वटै वडामार्फत ११ करोड गरी जम्मा एक अर्ब १४ करोड ४५ लाख १४ हजारको बजेट प्रस्तुत गरिएको छ ।

प्रस्तुत बजेटमाथि १० वटै वडाका अध्यक्षले छलफलमा भाग लिएका थिए । प्रत्येक वडाध्यक्षले प्रस्तुत बजेटबारे धारणा राख्दै आफ्नो वडाको बजेटसमेत प्रस्तुत गरिएको थियो । यसपालि प्रत्येक वडामा साविक ९० लाखबाट बढाई एक करोड बजेट विनियोजन गरिएको छ भने भौगोलिक रुपमा ठूला दुईवटा वडा नं ४ र ६ लाई प्रत्येकलाई एक करोड ५० लाख विनियोजन गरिएको छ ।

उप–प्रमुखले प्रस्तुत गर्नुभएको उक्त बजेटलाई छलफल पश्चात सर्वसम्मतले पारित भएको सभाअध्यक्ष तथा नगर प्रमुख महर्जनले घोषणा गर्नुभयो । कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न प्रस्तावहरू पनि पारित गरिएको छ । पहिले नै नगरसभाबाटै पारित गरिसकेको कर्मचारीहरूको तहमिलान बारे अधिकांश वडाअध्यक्षहरूले कार्यान्वयन नभएकोमा असन्तुष्ट व्यक्त गर्दै तुरुन्त कार्यान्वयन गर्न माग गर्नुभयो ।

यसबारे सम्बोधन गर्नुहुँदै उपप्रमुख खड्काले ५ वर्ष सेवा गरिसकेका प्रत्येक कर्मचारीलाई १ तह मिलान गर्ने घोषणा गर्नुभयो । सभाअध्यक्ष तथा प्रमुख महर्जनले यस कर्मचारीको तह मिलान सम्बन्धी पहिले नगरसभाले निर्णय गरेको भए तापनि त्यसबेला प्रदेश सरकारले कानुन बनाउने भन्ने आएकोले आफूहरू केही पछि परिरहेको अवस्थामा अहिले तु्रुन्तै प्रदेश सरकारले त्यस्तो कुनै कानुन नबन्ने भएकोले उपप्रमुखले घोषणा गरे बमोजिम ५ वर्ष सेवा गरिसकेका कर्मचारीलाई १ तह मिलान गर्ने बताउनु भयो साथै सातौं नगरसभा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद् दिंदै सभा विसर्जन गर्नुभयो ।

तपाईको प्रतिक्रिया