उद्योगमैत्री नीति ल्याउन माग

  साउन ०१, २०७७

भैरहवा, साउन १ : रुपन्देहीका उद्योगी, व्यवसायीले कोभिड–१९ र लामो समयको बन्दाबन्दीले उद्योग क्षेत्रमा गम्भीर प्रभाव पारेको भन्दै उद्योगलाई बचाइ राख्न उद्योगमैत्री मौद्रिक नीति ल्याउन माग गरेका छन् । नेपाल राष्ट्र बैङ्कले ल्याउँदै गरेको मौद्रिक नीति उद्योगीको पक्षमा हुनुपर्ने उनीहरूको माग छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बन्दाबन्दी अवधिको ब्याजमा ५० प्रतिशत छुट हुनुपर्ने, ब्याज, सावाँ र किस्तालाई पुनर्तालिका तयार गरी एक वर्ष म्याद थप गर्नुपर्ने, पुनर्कर्जाको दायरा फराकिलो र लचिलो बनाइनुपर्ने, बैङ्क तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, कर्जा नवीकरण शुल्कलगायतका शुल्क एकमुष्ट रु. १० हजारभन्दा बढी लिन नहुने उहाँको माग छ । उद्योगी, व्यवसायीले उठाएका माग सम्बोधन नभए बेरोजगारी बढेर स्थिति भयावह हुने र उद्योग, व्यवसाय बन्द भई बैङ्कसमेत धराशयी हुनसक्ने अध्यक्ष न्यौपानेले बताउनुभयो ।

उद्योगीहरूले उद्योग, होटल, यातायात, कृषिलगायतका सेवामूलक उद्योगको कर्जामा विशेष सहुलियत प्रदान गर्नुपर्ने, उद्योग क्षेत्रमा लगानी भएको कर्जामा ७ प्रतिशतभन्दा बढी ब्याजदर हुन नहुने, बजारमा तरलता कम हुन नदिन नीतिगत सुधार गरिनुपर्ने, सेयर कर्जा ७५ प्रतिशत पु¥याइनुपर्ने लगायतका विषय उठाएका छन् ।

रुपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहोराले उद्योगीले हालै सरकारले व्यवस्था गरेको पुनर्कर्जा कोषमार्फत एक खर्ब ५० अर्बको पुनर्कर्जा प्रवाहको प्रक्रिया सरल र छिटो सुरु गर्न पनि माग गरेको जनाउनुभयो । मझौला, साना तथा घरेलु उद्योगलाई पुनर्कर्जामा विशेष व्यवस्था गर्नसमेत उनीहरूको माग छ । पुनर्कर्जामा सबैलाई समावेश गर्ने खालको नीति ल्याउन पनि माग गरेका छन् । जगदम्बा सिमेन्ट उद्योगका सञ्चालक एवं नेपाल उद्योग परिसङ्घका केन्द्रीय उपाध्यक्ष राजेश अग्रवालले विदेशी मुद्रा सटहीलाई सरल बनाउनुपर्ने, सरकारको ढुकुटीमा रहेको रकम परिचालन गर्नुपर्ने र ब्याजदरमा कमी गर्नुपर्ने सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया