सिङ्गापुरको अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो

  असार ३०, २०७७

सिङ्गापुर, असार ३० : कोरोनाभाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिङ्गापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ । प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिङ्गापुरको अर्थतन्त्रमा एकै वर्ष यति ठूलो परिमाणमा अर्थतन्त्र खुम्चिएको पहिलो पटक हो ।

अघिल्लो वर्षको तुलनामा अप्रिल र जुन महिनाको अवधिमा १२.६ प्रतिशत अर्थतन्त्र खुम्चिएको सिङ्गापुरको व्यापार मन्त्रालयले जनाएको छ । सिङ्गापुरमा कोरोनाभाइरससँग जुध्न सरकारले लकडाउनजस्ता कडा कदम चालेका कारण पनि अर्थतन्त्रमा व्यापक असर परेको हो ।

विगत एक दशकको अवधिमा पहिलो पटक सिङ्गापुरको अर्थतन्त्र मन्दीतर्फ अग्रसर भएको छ । दोस्रो चौमासिक अवधिमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा यति ठूलो गिरावट आउनुको मुख्य कारण गत अप्रिल ७ देखि जुन १ सम्म कोरोनाभाइरसको प्रसार रोक्न चालिएका कडा कदमहरू जिम्मेवार रहेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार यस अवधिमा अत्यावश्यक सेवाबाहेक सबै आर्थिक गतिविधि स्थगित गरिएका थिए ।

साथै विश्वका सबैजसो मुलुकको आर्थिक स्थिति कमजोर भएकाले पनि बाह्य मागमा व्यापक गिरावट आएको मन्त्रालयले जनाएको छ । विश्व अर्थतन्त्र मापनको सुइरोको रुपमा रहेको सिङ्गापुरको पछिल्लो आर्थिक परिदृश्यले कोविड–१९ का कारण विश्वको अर्थतन्त्रमा निकै ठूलो असर परेको देखिने विज्ञहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया