मेलम्चीको सुरुङ जाँचमा खटिएका दुई कर्मचारी बेपत्ता, दुई घाइते

  असार ३०, २०७७

काठमाडौँ, असार ३० : मेलम्ची खानेपानी आयोजनाको आमाथाङ्कामा पानी लिकेज भएकाे  सुरुङ जाँच गर्न गएका दुई कर्मचारी बेपत्ता भएका छन् ।

दिउँसो करिब १.०० बजे सुरुङका ३२ वटा गेटमध्ये १७ नम्बर गेटमा पानी चुहिएपछि जाँच गर्न गएका चार जनामध्ये दुई जनालाई पानीले उच्छिट्याउँदा घाइते भएका थिए भने दुई जना हराइरहेको जनाएको छ ।

हराइरहेकामा एक जना आयोजनाका सवारी चालक रहेकाे र एक सिनाे हाइड्राेका चिनियाँ इञ्जिनियर भन्ने जानकारी भए पनि साे पुष्टि भइ नसकेकाे आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले गाेरखापत्र अनलाइनलाइ बताउनुभयाे । सुरुङ  परीक्षणका लागि छाडिएकाे पानीले गेट फाेडे पछि घटना भएकाे हुन सक्ने बताइएकाे छ ।

अहिले सुरुङमा पानी कम भइसकेकाे र उहाँहरूकाे खाेजी भइरहकाे प्रवक्ता पन्तले बताउनुभयाे । घाइतेको मेलम्ची स्वास्थ्य चाैकीमा उपचार भइरहेको र उहाँहरूलाई काठमाडौँ ल्याउन काठमाडौँबाट श्री एयरको हेलिकोप्टर उडिसकेको पन्तले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया