तनहुँमा बाढी र पहिरोमा ६ जनाको मृत्यु, पाँच बेपत्ता

  असार २९, २०७७

तनहुँ, असार २९ : गए रातीबाट भएको अविरल वर्षाले तनहुँको विभिन्न स्थानमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ पाँच जना बेपत्ता भएका छन् ।

व्यास नगरपालिका–५ मा पाँच जना र माग्दे गाउँपालिाकामा १ गरी ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । बेपता हुनेमा रिसिङ गाउँपालिकाका पाँच जना रहेको उहाँले बताउनुभयो ।

रिसिङ गाउँपालिकाका–८ पल्ट्याङका एकै घरको ५ जना, व्यास नगरपालिका–९ माझकोटमा घर भत्किएर ४ जना र व्यास नगरपालिका–९ कै एक बृद्धा पुरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

तिमिल्सिनाका अनुसार म्याग्दे गाउँपालिका–१ का १७ वर्षीया लक्ष्मी विकको भने पहिरोमा परी मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–८ का अनबहादुर थापाको घर पहिरोले पुरिदा छोरा, बुहारी र नातिनी गरी ५ जनाको पुरिएको तिमिल्सिनाले बताउनुभयो ।

त्यस्तै व्यास–९ माझकोटको केशर बहादुर थापाको घर भत्किदा चार जना परिवारका सदस्य बेपत्ता नै रहेका छन् । सोही ठाउँका मान बहादुर घर्तीको घर भत्किदा ७० वर्षीया आमा पहिरोमा पुरिएर मृत्यु भएको तिमिल्सिनाले बताउनुभयो ।

बुल्दी खोलामा ठूलो बाढी आउँदा मालेबगर, सिमलाटार, करमकाठ, बसपार्क वरपरका दुई दर्जन बढी घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तपाईको प्रतिक्रिया