सिङ्गापुरमा सत्तारुढ दल विजयी, विपक्षी दललाई १० सिट मात्रै

  असार २७, २०७७

सिगापुर, असार २७ : सिङ्गापुरमा शुक्रबार भएको आम निर्वाचनबाट पनि सत्तारुढ दल नै विजयी भएको छ । सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पिएपी) ले नै निर्वाचनमार्फत् फेरि सत्ता सञ्चालनको जनादेश पाएको हो ।

कुल खसेको मतमध्ये ९० प्रतिशतसम्मको नतिजा आउँदा ९३ सिटमध्ये विपक्षी दल वकर्स पार्टी (डब्लुपी)ले १० मात्रै सिटमा जित्न सफल भएको छ । निर्वाचनको नतिजा औपचारिक रुपमा घोषणा भएपछि सत्तारुढ दलले फेरि सरकार गठनका लागि गृहकार्य गर्ने साउथ चाइना मर्निङ्ग पोष्टले लेखेको छ ।

अहिले सत्तामा रहेको दल सन् १९५९ देखि सत्तामा रहँदैआएको छ । अहिले भएको निर्वाचनमा कुल मतदातामध्ये ६१.२४ प्रतिशत मात्रै मतदाता सहभागी भएका थिए । आफ्नो पक्षमा निर्वाचनको नतिजा आएपछि प्रधानमन्त्री लि हसिन लुङ्गले नतिजालाई सकारात्मक र सन्तोषजनक रुपमा लिएको बताउनुभएको छ ।

यसलाई अति ठूलो उपलब्धिको रुपमा लिनुपर्ने अवस्था नरहेको यो अनपेक्षित नतिजा नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले जुन मत हाम्रो पक्षमा आएको छ, त्यो एकदमै बलियो मतादेश हैन, मैले त्योभन्दा धेरै आउला भन्ने आशा गरेको थिए, तर पनि राम्रो चाहिँ भएको छ ।”

उहाँले आफ्नो पक्षमा आएको ६१ प्रतिशत मत लोकप्रिय मत नै भएको र यसको पूर्ण आदर गर्ने पनि बताउनुभयो । सत्तारुढ दल पिएपीले यसअघि सन् २०१५ मा ६९.९ प्रतिशत मत ल्याएकोमा अहिले ८.७ प्रतिशत घटेर ६१.२४ प्रतिशत मात्रै ल्याएको हो ।

मतदानका लागि सामाजिक दुरी कायम राखेर मतदान गर्ने व्यवस्था गरिएको थियो भने कोरानाभाइरसका लागि अपनाउनुपर्ने अन्य सतर्कताहरू अपनाउन पनि लगाइएको थियो । देशभरि मतदानका लागि यसअघि ८८० मतदान केन्द्रहरू रहेकोमा यस पटक बढाएर ११ सय पुर्याइएको थियो ।

तपाईको प्रतिक्रिया