उदयपुरमा बाढीको उच्च जोखिम, उद्धारका लागि पूर्वतयारी

  असार २७, २०७७

गाईघाट, असार २७ : दुई दिनदेखि परेको अविरल वर्षासँगै स्थानीय खोलाहरूमा आएको बाढीले उदयपुरको सदरमुकाम गाईघाट बजार जलमग्न भएको छ । जिल्लाका त्रियुगा, बरुवा, ककरु, तावा र यारी लगायत दर्जनौँ खोलामा पानीको बहाव उच्च भएसँगै बाढीको जोखिम बढेको छ ।

अविरल वर्षाबाट जिल्लाको जनजीवन चौतर्फी रुपमा प्रभावित भएको छ । स्थानीय बरुवा र त्रियुगा खोलामा आएको बाढीले कतिपय स्थानमा तटबाँध बगाउँदा गाईघाट पूर्वको बस्तीहरू उच्च जोखिममा परेकन छन् । त्रियुगा नगरपालिका वडा नं ११ को असारी रोड र बरुवा बसपार्क क्षेत्रमा स्थानीय बासिन्दाका दर्जन बढी घरहरू डुबानमा परेका छन् ।

यसैबीच पानी पर्ने क्रम अझै नरोकिएको र जोखिम झन बढ्दै गएको भन्दै जिल्ला विपद् व्यवस्थपन समितिका अध्यक्ष एवम उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शशीकुमार लम्सालले कुनैपनि बेला हुनसक्ने विपतिबाट सर्वसाधारणलाई तत्काल राहत र उद्धारका लागि स्थानीय प्रशासन तयारी अवस्थामा रहेको बताउनुभयो ।

निमित्त प्रजिअ लम्सालले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोलि उच्च सतर्कतासाथ तयारी अवस्थामा रहेको र हालसम्म गाईघाट आसपासका केही स्थानमा पानीको डुबान सुरु भएको, सप्तकोसीको बाढीले बेलका नगरपालिकाको विभिन्न स्थानमा कटान गर्न थालेको भन्ने जानकारी प्राप्त भएको बताउनुभयो ।

अहिले पनि मुसल्धारे पानी परिरहेकोले बाढी र पहिरोको जोखिम बढ्नसक्ने भएकोले सबै स्थानीय निकायसँगको सूचना स्राेत बलियो बनाइएको, पीडितहरूको तत्काल उद्धार राहतका लागि पूर्णरुपमा आफूहरू तयारी अवस्थामा रहेको र उच्च जोखिम भनिएका क्षेत्रहरूमा सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिसकिएको निमित्त प्रजिअ लम्सालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया