जुम्लामा पनि पुग्यो सलह, ठूलै झुण्ड पुगेपछि किसान चिन्तित

  असार २७, २०७७

खलङ्गा असार २७ : जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हो । पातारासी गाउँपालिका-१ र २ का केही बस्तीमा सलहको झुण्ड प्रवेश गरेको भेटिएको स्थानीय बताउँछन् ।

त्यहाँको पेरे र तल्फी गाउँको बीचमा रहेको मकै बारीमा सलह कीरा भेटिएको गाउँपालिकाको कृषि शाखा संयोजक रुपक बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार किसानले खबर गरेपछि फिल्डमा अध्ययन गरेर फर्किएका उहाँले जानकारी दिनुभयो ।

सुरुसुरुमा छिटफुट रुपमा देखिएपनि अहिले ठूलो झुण्डमा देखिन थालेका स्थानीय बताउँछन् । आलु र मकै बारीमा प्रवेश गरेर ठूलो नोक्सान गरेको किसानको गुनासो छ । ‘सलह भगाउन बाजा बजाउने, मान्छे कराउने गरेका छौँ तर भागेका छैनन्,’ स्थानीय गोरबहादुर रावतले जानकारी दिनुभयो ।

यता पातारासी गाउँपालिकामा सलहको झुण्ड प्रवेश गरेकोले किसानलाई सचेत रहन आग्रह गरिएको छ । पातारासी गाउँपालिका प्रमुख टेकबहादुर बुढ्थापाले प्रतिवेदन आउँदैछ । अब सलह भगाउन के गर्नुपर्ला भन्ने विषयमा आकस्मिक बैठकको तयारी भइरहेको जानकारी दिनुभयो ।
किसानले ठूलो आवाज निकाल्ने, धुँवाजस्ता विधिबाट सलहलाई तितरबितर पार्ने प्रयास भइरहेको छ । सानो क्षेत्रमा गरिएको खेतीमा झुल वा जालीले छोपेर बालीनाली बचाउने, एसडि प्रयोग गर्ने, लसुन पानी उमालेर छर्ने र जैविक विषादीको प्रयोग गरी सलहको नियन्त्रण गर्न सकिने कृषि विकास शाखा कार्यालय पातारासीले जानकारी दिएको छ ।

ठूलो मात्रामा सलह प्रवेश गरेकोले जुम्लाको स्याउ, मकै, उवा, गहुँ लगायतका रैथाने बालीमा क्षति पुग्ने डर भएको छ । सलहले मकैबाली सखाप पार्न थालेपछि भोकमरी हुनसक्ने भन्दै किसान आत्तिन थालेका छन् । ‘यो फट्याङ्ग्राजस्तो हुँदो रहेछ ।’ प्रत्यक्ष तल्फि र पेरेमा आएको कृषि शाखा प्रमुख बुढाले बताउनुभयो ।

जानकाररूका अनुसार सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह कीरा एकै दिनमा १५० किलोमिटरभन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्याउनसक्ने विज्ञहरू बताउँदैआएका छन् । स्याउ सुपरजोन कार्यालयका प्रमुख नवराज भण्डारीले यसले नेपालमा खास क्षति पुर्याएको देखिँदैन । तर सलह हो वा के हेर्न फिल्डमा गएर मात्रै थाहा हुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया