म्याग्दी पहिरोमा हराइरहेका २७ जनाको शव भेटियो

  असार २७, २०७७

बेनी, असार २७ : हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएकामध्ये २७ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका सूचना अधिकृत इन्स्पेक्टर डाक्टरप्रसाद चौधरीले दिएको जानकारी अनुसार रघुगङ्गा गाउँपालिका–६, पाखापानीको ठाडाखानीमा खोलाले बगाएका नलिमान छन्त्यालको शव शुक्रबार फेला परेको हो ।

त्यसैगरी, मालिका गाउँपालिका–७, बिममा पहिरोमा परी बेपत्ता भएकामध्ये ४० वर्षीया विष्णु पौडेल, चार वर्षीय इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, वीरबहादुरका तीन महिनाका छोरा, विष्णु नेपाली र सन्दीप नेपालीको शव फेला परेको छ ।

त्यस्तै, धौलागिरी गाउँपालिका–६, मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र जनिमा केसीको छोरा प्रकाश के.सी, हिरामति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दीप्ति जुग्जाली, दिवान जुग्जालीको शव फेला परेको छ ।

शुक्रबार बेपत्ता भएका धनबहादुर जुग्जाली, रितुकुमारी जुग्जाली र अर्जुन जुग्जाली सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजङ्ग कुँवरले बताउनुभयो ।

पहिरोमा परी घाइते भएका १२ जनाको उद्धार गरिएको छ । बिहीबार राति देखिको वर्षाले गर्दा शुक्रबार प्रयास गर्दा नसकिए पनि शनिबार बिहान मात्रै हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

धौलागिरी गाउँपालिका–६, मराङकी सुत्केरी अवस्थाकी महिला मन्जिता श्रीपाली, उनका छोरा ७ वर्षीय सफल श्रीपाली, मालिका गाउँपालिका–७, बिमका पूर्ण परियार र धौलागिरी गाउँपालिका–७, ताकमका सतदेवी बिटालु र मालिका–६ दरवाङका बालसिंह रोकालाई बेनी अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

धौलागिरी गाउँपालिका–६, मराङका गौमती सुनार, धनबहादुर जुग्जाली, अङ्कित जुग्जाली, बिर्सना जुग्जाली, दीपक सिर्पाली र धौलागिरी गाउँपालिका–७, ताकमका हरिबहादुर बिटालुको बेनी अस्पतालमा उपचार भइरहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । त्यस्तै, धौलागिरी गाउँपालिका–६, मराङका कुशल पुन बेनी अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।

त्यस्तै, धौलागिरी गाउँपालिकाका जोखिममा रहेका ५९० जना, रघुगङ्गा गाउँपालिका–३, गलेश्वर राहुघाट खोलानजिकैको बस्तीका २१ घरका ८५ जना, मालिका गाउँपालिकाबाट १९६ जनालाई र बेनी नगरपालिकाका जोखिममा रहेका २५ जना गरेर ८९६ जनालाई सुरक्षित स्थानमा राखिएको इन्सपेक्टर चौधरीले जानकारी दिनुभयो ।

शनिबार बिहानबाट प्रभू एयरको हेलिकोप्टरमार्फत उद्धार थालिएको थियो । जिसी ग्रुप म्याग्दीका नारायण जि.सी. र ओमकुमारी शान्ति कोषको आर्थिक व्यवस्थापनमा प्रभुको हेलीकोप्टरले उद्धार थालेका हुन् ।

त्यस्तै, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोलीसहित घटनास्थलमा सांसद भूपेन्द्र थापा, नवराज शर्मा, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, डिएसपी किरणजङ्ग कुँवर, नेपाली सेनालगायतको टोली पुगेको थियो । त्यस्तै, अनेरास्ववियू केन्द्रीय सदस्य प्रकाश पौडेल नेतृत्वमा बेनीका अखिलका टोली पनि मराङमा उद्धारका लागि पुगेका छन् ।

तपाईको प्रतिक्रिया