बाढीले सदरमुकामसहित रौतहट जलमग्न हुँदै

  असार २७, २०७७

रौतहट, असार २७ : मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण बकैया नदीमा शनिबार आएको बाढीले सदरमुकाम गौरसमेतका अन्य स्थान जोखिममा परेका छन् ।

सदरमुकाम गौर नगरपालिका – २ मा बकैया नदीमा बाँध फुटेर दशगजा क्षेत्रबाट शनिबार दिउँसो पानीको बहाव गौरतर्फ प्रवेश गरेपछि गौर जलमग्न हुने खतरा बढेको हो । अहिले यहाँका स्थानीय त्रसित छन् । नदीमा पानीको सतह बढेको छ । शनिबार दिउँसो बाग्मती नदीमा पानीको बहाव पाँच मिटर ७५ सेन्टिमिटर रहेको जनाइएको छ ।

शनिबार दिउँसो बन्जराहा गाउँको बस्तीमा तीन फिटसम्म पानी जमेको छ । टिकुलिया क्षेत्रमा बाढी खेतमा पसेको छ । जिल्लाका दक्षिणी भेगका कैयौँ स्थानीय तह यतिबेला जलमग्न भएका छन् । सुरक्षाकर्मीहरू स्थानीयसँग डुबान र बाढीको खतराबाट जोगिन जिल्लाको पश्चिमी भेग भएर बकैया नदी र पूर्वी भेग भएर बाग्मती नदी बहने गर्छ । दुवै नदीमा पानीको बहाव बढेको छ ।

यसअघि तटबन्ध गरिएका कैयौँ स्थानमा बाढीले कटान गर्न थालेको छ । बाग्मती नदीमाथि निर्माणाधीन अवस्थामा रहेका पुलहरूमा समेत असर गर्नसक्ने जनाइएको छ । स्थानीयहरू बाढीका कारण डरले रात बिताउन बाध्य हुँदै आएको फतुवा हर्षाहाका स्थानीय जेन्जे लामाले बताउनुभयो । उहाँका अनुसार, कति बेला बाढीले कहाँ के गर्ला भनेर स्थानीय चिन्तित छन् । स्थानीय प्रहरी प्रशासनले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दैआएको छ ।

कोरोना भाइरसका कारण लकडाउन भएपछि तटबन्ध निर्माण कार्यसमेत प्रभावित हुँदा बाढीबाट कटान र डुबानको खतरा रहँदैआएको हो । दर्जनौँ स्थानमा गाउँलेहरूको सक्रियतामा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले बाँसमा आधारित भएर माटो भरेर तटबन्ध गरिएको थियो । तर, त्यस्ता तटबन्धमा विस्तारै कटान गर्न शुरु गरिसकेको छ । जिल्लाका देवाही गोनाही, ब्रम्हपुरी, करुनियाँ, बन्जराहा, ईनर्वा लगायतका कैँयौँ स्थान बर्सेनि बाढीका कारण डुबानमा पर्दैआएका छन् ।

बाढीको खतरा रहेकाले यतिबेला स्थानीय प्रहरी प्रशासनको परिचालन र सक्रियता बढाइएको सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वार्टर रौतहटका प्रहरी उपरीक्षक रविनराज कर्णजीतले बताउनुभयो । हालसम्म कुनै अप्रिय मानवीय क्षति भने भएको छैन । वर्षादका समयमा रौतहटमा प्रत्येक वर्ष बाग्मती र बकैया नदीले ठूलो मात्रामा जनधनको क्षति गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया