भ्रामक सामग्रीप्रति सबै संवेदनशील हुनुपर्छ : सञ्चार मन्त्रालय

  असार २७, २०७७

काठमाडौँ, असार २६ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय सञ्चारमाध्यमले नेपालबारे प्रस्तुत गरेका भ्रामक सामग्रीले दुई देशबीचको मित्रवत् सम्बन्धमा प्रतिकूल प्रभाव पार्न सक्ने हुँदा सम्बन्धित सबै पक्ष संवेदनशील हुनुपर्ने जनाएको छ ।

“आमसञ्चारमाध्यमहरुले समाचार प्रकाशन प्रसारण गर्दा सत्य, तथ्य र वस्तुपरक भई पेशागत आचारसंहिताको परिपालनामा स्वयं प्रतिबद्ध हुनुपर्छ भन्ने मन्त्रालयको मान्यता रहेको छ । कुनै पनि सञ्चारमाध्यमले देशको राष्ट्रियता एवं स्वाभिमानमा आँच पु¥याउने सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्नुहुँदैन भन्ने व्यवस्था प्रचलित कानून तथा आचारसंहितामा स्पष्ट नै रहेको छ”, मन्त्रालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ ।

केवल सेवाप्रदायकलाई धन्यवाद
नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकले जिम्मेवारीबोधका साथ स्वतःस्फूर्तरुपमा प्रसारण रोकेकामा मन्त्रालयले धन्यवादसमेत व्यक्त गरेको छ ।

आगामी दिनमा समेत सरोकार पक्षबाट प्रचलित कानून तथा आचारसंहिता परिपालना गर्ने गराउने सन्दर्भमा निरन्तर सहयोग प्राप्त हुनेमा मन्त्रालयले विश्वास व्यक्त गरेको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया