जनताको सीप नै आर्थिक समृद्धिको आधार : मन्त्री अर्याल

  असार २६, २०७७

काठमाडौं, असार २६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको सीप नै मुलुकको आर्थिक विकासको आधार भएको बताउनुभएको छ । स्याङ्जाको विभिन्न ठाउँमा भएको सीपमूलक तालिमको शुक्रबार समापन शुभकामना दिनुहुँदै मन्त्री अर्यालले भिडियो संवाद मार्फत् सो कुरा बताउनु भएको हो ।

सो अवसरमा मन्त्री अर्यालले ’समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य भेट्न यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताउनुभयो । हरेक व्यक्तिलाई सीप सिकाउदै आत्मनिर्भर तथा व्यवसायमूखी बनाउन जरुरी रहेको भन्दै मन्त्री अर्यालले भन्नुभयो, “अब गाउँमा नै आर्थिक सम्भावनाको खोजी गर्नुपर्ने बेला आयो ।”

“गाउँलेहरुले उद्यमी बनेर बजारलाई आवश्यक पर्ने वस्तुहरु उत्पादन गर्नुपर्छ, त्यसका निम्ती आवश्यक बजारको व्यवस्थापन हामी गर्छौ” मन्त्री अर्यालले भन्नुभयो, “एक घर एक नयाँ रोजगारको अभियानसँगै गाउँमा रोजगारीको सिर्जना हुन्छ ।” “हरेक व्यक्ति ज्ञान र सीपसहित आत्मनिर्भर बन्नुपर्छ, स्वरोजगारी र लघु उद्यमी बन्नुपर्छ, यसका लागि सरकारको तर्फबाट आवश्यक सहयोग हुन्छ” मन्त्री अर्यालले भन्नुभयो ।

सीपमुलक कार्यक्रमले जनताको आर्थिक जीवनस्तर उकास्न मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । स्याङ्जाका पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, भिरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, कालिगण्डकी गाउँपालिका, चापाकोट नगरपालिकाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक तालिम सम्पन्न भएका छन ।

मन्त्रालयको तर्फबाट स्याङ्जाको विभिन्न १४ वटा सहकारी संस्थालाई उपलब्ध गराएको एक करोड रुपियाँ अनुदानबाट ती सहकारी संस्थाहरुले १५ वटा सीपमूलक, व्यवसायिक उद्यमी तालिम तथा कार्यक्रम सम्पन्न गरिएको मन्त्री अर्यालले जानकारी दिनुभयो । तािलममा अचार बनाउने, च्याउ खेती गर्ने, ढाँका बुन्ने, मौरीपालन लगायतका उद्यमशिलताका सीप सिकाइएका छन् । 

तपाईको प्रतिक्रिया