उपत्यकामा ४२ सहित थप ११८ सङ्क्रमित, कुल १६ हजार ६४९

  असार २६, २०७७

काठमाडौँ, असार २६ : नेपालमा थप ११८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ६४९ पुगेको छ ।

मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १२० छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या आठ हजार ११ रहेको छ । जम्मा सङ्क्रमितमध्ये ४८ दशमलव एक प्रतिशत निको भएको उहाँले बताउनुभयो ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ८०५ जनाको पीसीआर नमूना परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ७५ हजार ९५१ जनाको परीक्षण भएको छ । हाल क्वारेन्टिनमा २३ हजार ९१० जना र आइसोलेशनमा आठ हजार ६०३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला गरी छ वटा जिल्ला कोरोना मुक्त भएका छन् । पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्ला छ वटा छन् । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रवक्ता डा गौतमले सङ्क्रमितको सङ्ख्या कम भए पनि हेलचक्य्राइँ बढेकाले स्थिति भयाभह हुनसक्ने भन्दै यसप्रति सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।

उपत्यकामा थपिए ४२ सङ्क्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८, ललितपुरमा १३ र भक्तपुरमा एक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका छ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौँका १० र ललितपुरका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया