म्याग्दीका विभिन्न स्थानमा पहिरोमा परी १० को मृत्यु, १२ बेपत्ता, १० घरमा क्षति

  असार २६, २०७७

बेनी, असार २६ : हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा बाढी पहिरोमा परी १० जनाको मृत्यु भएको छ, १२ जना बेपत्ता भएका छन् । धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ बिममा आठ जना गरी १० जनाको मृत्यु भएको छ ।

त्यसैगरी, धौलागिरी गाउँपालिका–६, मराङमा १२ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । उहाँका अनुसार धौलागिरी गाउँपालिका मराङमा २० घर, ताकममा पाँच घर, मालिका गाउँपालिका–७, बिममा १० घर पूर्णरुपमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी किरणजङ्ग कुँवरका अनुसार घटनास्थलतर्फ प्रहरी टोली परिचालन भएको भए पनि पुगि नसकेकोले पूरा विवरण आउन अझै बाँकी छ ।

त्यस्तै बेनी-जोमसोम सडक खण्डको गलेश्वरस्थित राहुघाट नदीमाथिको बेलीब्रिज नदीको कटानले पूर्णरुपमा क्षति भएको प्रजिअ ढकालले बताउनुभयो । ढकालका अनुसार सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तर सडक अवरुद्ध भएका कारण पुग्न कठिनाइ भएको छ ।

तपाईको प्रतिक्रिया