मन्त्रीपरिषद्को बैठकमै बिरामी हुनुभएका आइभोरी कोष्टका प्रधानमन्त्रीको निधन

  असार २५, २०७७

काठमाडौं, असार २५ : मन्त्रीपरिषद्को बैठकमै बिरामी पर्नुभएका आइभोरी कोष्टका प्रधानमन्त्री अमाडौ गन कौलीबलीको बुधबार निधन भएको छ ।

६१ वर्षीय कौलीबलीलाई सत्तारुढ दलले आगामी अक्टोबर महिनाका लागि निर्धारित राष्ट्रपतिको चुनाबमा उम्मेदवार छनोट गरेको थियो । कौलीबलीले आफू तेस्रो पटक प्रधानमन्त्री हुन नचाहेको घोषणा गरेपछि सत्तारुढ दलले उहाँलाई राष्ट्रपतिको उम्मेदवार छनोट गरेको थियो ।

करिब दुई महिनासम्म मुटुको उपचार गराएपछि उहाँ गत् बिहिबार मात्रै फ्रान्सबाट स्वदेश फर्किनुभएको थियो । राष्ट्रपति औत्ताराले भने प्रधानमन्त्री कौलीबलीको निधनले देश नै शोकाकुल हुन पुगेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले साप्ताहिक मन्त्रीपरिषद्को बैठकमै असहज महसुस गरेपछि प्रधानमन्त्रीलाई अस्पताल पुर्याइएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “मेरो कान्छो भाईलाई श्रद्धाञ्जली छ, जससँग लगातार ३० वर्ष काम गर्ने अवसर पाएँ, एक यथार्थ राजनेताको स्मरण सधैं रहीरहन्छ ।”

तपाईको प्रतिक्रिया