बैतडीमा फेरि चितुवा आतङ्क, कर तिर्न गएका पुजाराको औँला चपाइदियो

  असार २५, २०७७

बैतडी, असार २५ : जग्गाको कर तिरेर वडा कार्यालयबाट घर फर्किँदैगरेका ४२ वर्षीय करवीर पुजारामाथि चितुवाले आक्रमण गरेर हातको औँला चपाइदिएको छ । बैतडीको पुरचौडी नगरपालिका–९ तल्लादेहीका ४१ वर्षीय करवीर पुजारालाई चितुवाले बिहीबार अपरान्ह ३ बजे आक्रमण गरेर गम्भीर घाइते बनाएको हो ।

जग्गा र घर कर बुझाएर वडा कार्यालयबाट घर फर्किरहेका बेला चितुवाले गाउँ नजिकैको चमडिया जङ्गलमा आक्रमण गरेर पुजारालाई घाइते बनाएको प्रहरीले जानकारी दिएको छ । चितुवाले आक्रमण गरेर पुजाराको खुट्टा र बाँया हातको औँला चपाइदिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

पुजाराको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । बैतडीमा २०६८ साल असारदेखि २०७७ असारसम्म चितुवाले अक्रमणमा गरेर २५ जनाको ज्यान लिइसकेको छ भने १४ जना घाइते बनाएको छ ।

यसअघि बैतडीको तल्लो स्वाराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा मान्छेको शिकार गर्दैआएको चितुवाले जिल्लाको उत्तर पूर्वी पुरचौडी नगरपालिकामा पहिलोपटक मान्छेमाथि आक्रमण गरेर घाइते बनाएको छ ।

तपाईको प्रतिक्रिया