सप्तरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३३० पुग्यो

  असार २५, २०७७

सप्तरी, असार २५ : सप्तरीमा अहिले भारतभन्दा तेस्राे मुलुकबाट घर फर्किनेहरूमा कोरोना सङ्क्रमण उच्च देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल यहाँस्थित साईकृष्णा अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेका १५४ जना कोरोना सङ्क्रमितमध्ये २५ जना भारतबाट र १२९ जना तेस्राे मुलुकबाट घर फर्किएका हुन् ।

रोजगारीको लागी सउदी अरब, कतार, मलेसिया, कुवेत, बहराईनलगायतका स्थानहरूमा रहेकाहरू हालै हवाई मार्ग प्रयोग गरी काठमाडाैँ हुदै सप्तरी आइपुगेपछि गरिएको पीसीआर परीक्षणका क्रममा अधिकांशमा कोरोना पोजिटिभ पुष्टि भएको र त्यो सङ्ख्या १२९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

“सुरुमा भारतबाट घर फर्किनेहरूमा बढी ध्यान दिइयो, अहिले भारतबाट आउनेहरूको तुलनामा तेश्रो मुलुकबाट आउनेहरूमा अत्यधिक सङ्क्रमण देखिन थालेको छ, उहाँले भन्नुभयो, “सम्बन्धित देशले फिर्ता पठाउँदा परीक्षण नगर्नु र काठमाडौँस्थित अन्तराष्ट्रिय विमानस्थलमा समेत भरपर्दाे जाँच हुन नसक्दा चुनौती थपिएको छ ।”

यता, आइसोलेसन बेडको अभावमा कोभिड–१९ का सङ्क्रमित राख्न समस्या भइरहेको समयमा नेपाली सेनाले यहाँस्थित साईकृष्णा अस्पतालमा थप ७५ आइसोलेसन बेडको व्यवस्थापन गरेको छ । नेपाली सेनाको भिमदल गणबाट खटिएको प्राविधिकसहितको २५ सदस्यीय टोलीले लगातार पाँच दिनको प्रयासमा थप ७५ बेडको व्यवस्थापन गरेको हो ।

जिल्लाकै एकमात्र आइसोलेसन वार्ड बनाइएको सो अस्पतालमा यसअघि प्रदेश सरकारको सहयोग तथा गणकै सेनाको प्राविधिक टोलीको श्रमदानबाट १०३ वेडको सुविधा सम्पन्न आइसोलेसन कक्ष निर्माण गरिएको थियो । तर सङ्क्रमितको सङ्ख्या बढ्दैगई बेडको अभाव भएपछि सेनाले थप ७५ वटा आइसोलेसन बेड तयार गरेको भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवरले बताउनुभयो ।

सप्तरीमा बिहीबार सम्ममा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३३० पुगेको छ । जसमध्ये १७६ जना निको भई घर फर्किसकेका छन भने १५४ जना सङ्क्रमित अझै उपचारको क्रममा छन् ।

तपाईको प्रतिक्रिया