जुम्लामा सुत्केरी र शिशुसहित २४ ले जिते कोरोना

  असार २५, २०७७

जुम्ला, असार २५ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी र उनका अठार दिने शिशुसहित २४ जना व्यक्तिले कोरोना जितेर घर फर्किएका छन् ।

स्वाब परीक्षणमा कोरोना पीसीआर रिपोर्ट पोजिटिभ आएपछि आइसोलेनमा रहेका एक जना शिशुसहित २४ जनाको रिपोर्ट १४ दिनपछि पुनः परीक्षण गर्दा नेगेटिभ आएपछि बिहीबार साँझ घर फर्काएको हो ।

सिञ्जा गाउँपालिका–४, काडागाउँकी ३९ वर्षीया एक महिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएपछि आमा र बच्चा दुवैमा कोरोना रिपोर्ट पोजिटिभ देखिएको थियो ।

प्रतिष्ठानको आइसोलेसनमा राखेर १४ दिनपछि पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि १८ दिने बच्चा, सुत्केरी आमासहित २४ जनालाई घर पठाएको अस्पताल निर्देशक डा. मङ्गल रावलले जानकारी दिनुभयो ।

प्रतिष्ठानका अनुसार आइसोलेसनमा १२ जना रहेका छन् । उनीहरूको पनि रिपोर्ट नेगेटिभ आउने अपेक्षा गरिएको छ ।” कोरोना रिपोर्ट नेगेटिभ आएर आइसोलेसनबाट घर फर्किने क्रममा खादा ओडाएर बिदाइ गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा र प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

कोरोना जितेर घर जितेर घर फर्किएकाहरू पनि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न चिकित्सकले सुझाएका छन् । प्रजिअ थापाले चिकित्सकहरूको सुझावलाई मनन गर्दै व्यक्तिगत अनुशासन र सामाजिक दूरी कायम गर्न उहाँले अनुरोधसमेत गर्नुभयो ।

यस पटक कोरोना सङ्क्रमणबाट निको हुनेमा सुत्केरी महिला, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरू रहेका छन् । यसअघि पनि भारतबाट आएका केही व्यक्ति र क्वारेन्टाइन व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सहयोगी गरी २६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्केका थिए ।

तपाईको प्रतिक्रिया