एक हप्तासम्म मनसुन सक्रिय हुने, बाढी र पहिराे जानसक्ने

  असार २५, २०७७

काठमाडौँ, असार २५ : भोलि असार २६ गते शुक्रबारदेखि आउँदो शुक्रबारसम्म मनसुन अझै धेरै सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

‘एक साता बिहान घाम लागे जस्तो हुने र रातको समयमा मनसुन अत्यधिक सक्रिय रहनेछ’ जल तथा मौसम विज्ञान विभागका मौसमविज्ञ वरुण पौडेलले भन्नुभयो । ५० मिलिलिटरसम्म भएको वर्षा मध्यम भएकाले नेपालका केही स्थानबाहेक अधिकांश भागहरूमा मध्यम वर्षा भइरहेको उहाँले बताउनुभयो । ‘अब एक साता मनसुन अत्यधिक सक्रिय रहनेछ ।’

प्रदेश नम्बर २ का सबै जिल्लाहरूमा बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन निक्कै सक्रिय भएकाले सावधानी अपनाउन उहाँले सबैमा अनुरोध गर्नुुभयो । ‘पूर्व १ नम्बरका पहाडी जिल्लाहरूमा हिजोदेखि नै मनसुन सक्रिय थियो’ पौडेलले भन्नुुभयो, ‘सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, दोलखामा सम्बद्ध पक्षले सक्रियता अपनाउन आवश्यक छ,’ पौडेलले भन्नुभयो, यो ठाउँहरूमा रातको समयमा सक्रिय हुने भएकाले सावधानी अपनाउनुहोला’ पौडेलले आग्रह गर्नुभयो ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो । प्रदेश नं १, २, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुन मुख्य रुपमा नेपाल प्रवेश गरेकाले जुनसुकै बेला घनघोर वर्षा हुनसक्ने भएकाले सबैले सतर्कता अपनाउनुपर्ने मौसमविद् पौडेलको भनाइ छ ।

विभागका अनुसार मनसुनको समयमा एक सय मिलिलिटरभन्दा धेरै वर्षा भयो भने र अफ सिजनमा ५० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भन्ने गरिन्छ । तर अहिलेसम्म हिजोको सिन्धुपाल्चोक र पोखरामा मात्रै एक सय मिलिलिटर वर्षा भएको र अरु ठाउँमा ५० मिलिलिटरसम्मको वर्षा भएकाले नेपालमा हल्का तथा मध्यम खालको वर्षा भएको जल तथा मौसमविद्हरूले बताएका छन् ।

विगतका वर्षहरूमा प्रि-मनसुनमा मात्रै वर्षा हुने तर यो वर्ष वैशाखदेखि नै मनसुन सक्रिय भएकाले नेपालकै धेरै स्थानहरूमा बाढी र पहिरोको जोखिम बढेको हो । पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना रहनुका साथै कतिपय ठाउँमा पहिरोसमेत जान सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्क रहन सबैमा आग्रह गरिसकेको छ ।

सुनकोशी, इन्द्रावती, कन्काई, कोशी, कमला, बाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह निक्कै बढ्ने अनुमान गरिएको छ । ‘शुुक्रबारदेखि प्रदेश नं १ र २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरूमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दालाई विशेष सतर्कता रहन आग्रह गर्दछाैँ’ प्राधिकरणले सूचना जारी गरेको छ ।’

पूूर्व १ नम्बर क्षेत्रमा समेत खोलामा बाढी आउने हिजै सूचना जारी गरेका थियौँ’, पौडेलले भन्नुभयो । प्राधिकरणका अनुसार ठूला नदीनालामा आउने बाढीबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नं ११५५ र आपतकालीन सेवाका लागि राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नं ११४९ उपलब्धमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

असार २४ गते साँझदेखि नै कास्कीको पोखरा, लुम्ले लगायत धेरै स्थान, लमजुङ, पर्वत, बागलुङ र आसपास भारी वर्षा मापन र थप वर्षा हुने सम्भावना भएकाले बिहान ९ बजेदेखि छ घण्टा उक्त स्थानका साना खोलामा आकस्मिक बहाव हुन सक्ने, साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन हामीले सूचना जारी गरेका छौँ,’ पौडेलले भन्नुुभयो ।

बिहीबार राति १८ जना बेपत्ता र तीन जनाको ज्यान लिएको भोटेकोशी बाढी थुनिएर आकस्मिक फुटेको हुन सक्ने मौसमविद्हरूले अनुमान गरेका छन् । जल तथा मौसम विज्ञान विभागले आफ्नो नियमित बुलेटिनमा रातको समयमा भोटेकोशीको बहाव निक्कै कम भएको र केही समयमा एक्कासी ठूलो बाढी आएको देखिएको उल्लेख गरेको छ ।

उसले आफ्नो आधिकारिक ट्वीटरमा लेखेको छ ‘भोटेकोशी नदी बाह्रबीसेमा राति १२ः३० मा जल सतह ०.५ मिटर घटेर ००ः५० बजे एक्कासी १.१ बढेकोले माथिल्लो तटीय क्षेत्रमा भोटेकोशी थुनिएर आकस्मिक फुटेको हुनसक्ने अनुमान छ । भोटेकोशी–सुनकोशी नदी तटीय क्षेत्रमा १० बजे सम्म सतर्कता अपनाउन हुन अनुरोध छ ।’

जल तथा मौसम विज्ञान विभागले समेत यो वर्षकै सबैभन्दा धेरै १३९ मिलिलिटर वर्षा बाह्रबिसे क्षेत्रमा भएको बताएको छ । बिहीबार राति भोटेकोशीको बहाव एकैपटक आएको र एकैपटक धेरै बर्षाद् भएकाले ठूलो बाढी आएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुुभयो ।

नदी थुनिएको त्यस्तो कुनै जानकारी नपाएको उहाँले बताउनुभयो । बुधबार अत्यधिक वर्षा भएकाले नदीको बहाव बढेको र बाढीमा माटोको मात्रा अत्याधिक भएकाले क्षति धेरै भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया