खजुरा औद्योगिक ग्रामको डीपीआर तयार

  असार २४, २०७७

नेपालगञ्ज, असार २४ : बाँकेको खजुरा गाउँपालिकामा निर्माण गर्न लागिएको खजुरा औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ ।

सो डीपीआरका अनुसार करिब चालिस करोडको लागतमा २१ बिघा क्षेत्रफलको औद्योगिक ग्रामभित्र विभिन्न भौतिक पूर्वाधार तयार पारिने डीपीआर तयार पार्ने एरिकम इन्जिनियरिङ सर्भिस ललितपुरले जनाएको छ ।

सर्भिसका प्रबन्ध निर्देशक मन्दिपकुमार ठाकुरले डीपीआर तयार गरेर खजुरा गाउँपालिकामा विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गरिएको बताउनुभयो । उहाँले सो औद्योगिक ग्रामभित्र पहिलो चरणमा प्रशासनिक भवन, हेल्थ पोस्ट, गार्ड रुम, पार्क, बाटो, खानेपानी, विद्युतीकरण लगायतका काम गरिने बताउनुभयो ।

गाउँपालिकाका सरोकारवालासँग छलफल गरेर सुझाव सङ्कलन गरिसकिएकाले छिट्टै डीपीआरलाई अन्तिम रूप दिएर गाउँपालिकालाई बुझाइने प्रबन्ध निर्देशक ठाकुरले बताउनुभयो । सरकारले देशभरिका सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने कार्यक्रमअन्तर्गत बाँकेको खजुरा गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेको थियो ।

स्थानीय सीप, कच्चा पदार्थको प्रयोग गरी सञ्चालन हुने उद्योगलाई प्रोत्साहन गर्नका लागि मन्त्रिपरिषद्को बैठकले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेअनुसार बाँकेको खजुरा गाउँपालिका सरकारको सूचीमा परेको थियोे ।

सरकारको सो निर्णयलगत्तै खजुरा गाउँपालिकाले वडा नम्बर ६ पुरनैनामा औद्योगिक ग्राम निर्माणका लागि २१ बिघा जग्गा व्यवस्थापन गरिएको सो जग्गालाई तारबार गर्ने तथा चौकीदार बस्ने घर बनाउने काम अहिले तीव्र गतिमा भइरहेको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । उहाँले पहिलो चरणमा देशभरिबाट औद्योगिक ग्रामका लागि छनोटमा परेका छवटा गाउँपालिकामध्ये खजुरा पनि परेको बताउनुभयो ।

औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ‘टोकन मनी’का रूपमा आर्थिक वर्ष २०७६÷७७ मा ९२ लाख रुपियाँ प्राप्त गरेको जनाउँदै उहाँले सोही रकमबाट अहिलेको काम भइरहेको बताउनुभयो ।

सो औद्योगिक ग्रामले लगानीकर्तालाई खजुरामा आकर्षित गर्ने विश्वास व्यक्त गर्दै उहाँले नमुना गाउँपालिकाका रूपमा स्थापित हुँदै गएको खजुरामा साना ठूला लगानीकर्ता आकर्षित गर्ने नीति बनाएर अगाडि बढेको बताउनुभयो । बर्सेनि बजेटमा वृद्धि गर्दै औद्योगिक ग्रामको डीपीआरबमोजिम कामलाई अगाडि बढाउँदै लैजाने योजना रहेको खजुरा गाउँपालिकाले जनाएको छ ।  

तपाईको प्रतिक्रिया