निगम र हिमालय एयरलाइन्सका चालक दलका १४ जना संक्रमित

  असार २३, २०७७

काठमाडौं, असार २३ : विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार उडानमा संलग्न नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका १४ जना कोरोनाबाट संक्रमित भएका छन् । निगम प्रवक्ता अर्चना खड्काका अनुसार मंगलबारसम्म निगमका ३ पाइलट र ६ जना क्याबिन क्रू (एयरहोस्टेस र फ्लाइट एटेन्डेन्ट) गरी ९ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका उनीहरूलाई मंगलबार दिउँसो बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगिएको छ । निगमले उद्धार उडानमा जाने चालक दल तथा प्राविधिकका लागि सोल्टी क्राउन प्लाजामा क्वारेन्टाइन बनाएको छ ।

त्यसैगरी, उद्धार उडानमै रहेको हिमालय एयरलायन्सका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ । मंगलबार एक पाइलट र दुई क्याबिन क्रूमा कोरोना पुष्टि भएको प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले बताए । यसअघि हिमालयका एक विदेशी पाइलट र नेपाली फ्लाइट एटेन्डेन्टमा संक्रमण पुष्टि भइसकेको छ ।

निगमका ४ वटा विमान उद्धार उडानमा छन् । जसमा विदेशीसहित ५४ पाइलट र सयभन्दा बढी क्याबिन क्रू छन् । उद्धार उडानमा ४ विमान रहेको हिमालयमा ४३ पाइलट र ८० हाराहारी क्याबिन क्रू संलग्न छन् ।

तपाईको प्रतिक्रिया