उपत्यकामा कोरोनाको उच्च जोखिम, मास्क नलगाई घर बाहिर ननिस्किन आग्रह

  असार २३, २०७७

काडमाडौँ, असार २३ : काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौँका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण पुष्टि भएको यो धेरै सङ्ख्या हो  ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौँ उच्च जोखिममा पर्दै गएको बताउनुुभयो । उहाँका अनुसार चाँगुनारायण, हरिसिद्धि लगायतका क्षेत्रका मानिस सङ्क्रमित रहेको र सङ्क्रमितको विगत जानकारी पाउन नसक्दा उपत्यका जोखिममा पर्दै गएको हो ।

वायु सेवाका कर्मचारीलाई कोरोना
नेपाल वायुसेवा निगमका सात जना कर्मचारीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ । निगमका सात जना कर्मचारीको परीक्षण पोजेटिभ आएको बताउँदै डा. पाण्डेले निगमका कर्मचारीसँगै उपत्यकास्थित अस्पतालका स्वास्थ्यकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको उल्लेख गर्नुभयो । कुन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएको भन्ने विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

मृतक सङ्ख्या ३५ पुग्यो
कोरोना भाइरसका कारण नेपालमा थप एक व्यक्तिको मृत्यु भएको छ । बाग्लुङ निसिखोला घर भएका २९ वर्षीय पुरुषको आइतबार निधन भएको स्वास्थय तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किनुभएका उहाँ ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा बसेका बेला मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ ।

मास्क नलगाई घर बाहिर ननिस्किन आग्रह
गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको गृहका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको अधिकारीले बताए ।

‘स्वास्थ्य मापदण्ड पालना नगर्दा राजधानी नै संक्रमणको उच्च जोखिममा रहेको देखिएकोले गृहको निर्देशन र परिपत्र सरकारी, गैरसरकारी र निजी क्षेत्र तथा स्वयं सर्वसाधारणलाई कडाइका साथ लागू गर्न प्रशासन र प्रहरीलाई परिपत्र गरेका हौं,’ उनले भने, ‘निर्देशन उल्लंघन गर्नेलाई पक्राउ र जरिवाना सम्मको कारबाही हुन्छ ।’

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । त्यसयता सडक र बजार, कलकारखानामा मास्क/सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया