रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण सुरु

  असार २२, २०७७

काठमाडौँ, असार २२ : ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु भएको छ । असार २० गते क्षमापूजा गरी सोमबारबाट निर्माण कार्य थालिएको हो ।

मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यका अनुसार, मन्दिर पुनर्निर्माणका लागि छरिएर रहेका निर्माण सामग्री मिलाउने र ढुङ्गाका खम्बाहरू एकत्रित गर्ने कार्य सोमबार गरिएको छ । मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले असार १५ गते शाक्यलाई सिफारिस गरेको थियो ।

पुरातत्त्व विभागका सिडिई सम्पत घिमिरेका अनुसार, उपभोक्ता समितिमार्फत् पुनर्निर्माण कार्य गरिए पनि त्यसको प्राविधिक रेखदेख राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा पुरातत्त्व विभागले गर्नेछ । उपभोक्ता समिति र पुरातत्त्व विभागबीच सम्पन्न सम्झौताअनुसार एक वर्ष (२०७८ असार १५ गते) भित्र मन्दिर पुनर्निर्माण गर्नुपर्नेछ ।

पुनर्निर्माण लागत तीन करोड आठ लाख रुपैयाँ रहेको छ । यसअघि श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत् रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो । पूर्वयोजना अनुसार मन्दिर पुनर्निर्माण अघि नबढेपछि जनप्रतिनिधि एवं स्थानीयको सुझावअनुसार ठेक्का तोडी उपभोक्ता समितिमार्फत् गर्न लागिएको हो ।

रानीपोखरीको सतह भाग र पानी रहने वरिपरिको पर्खालको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गरिएको थियो ।

तपाईको प्रतिक्रिया