बेनी अस्पतालमा थप तीन जनामा डेङ्गी, कुल संक्रमित २० पुगे

  असार २२, २०७७

बेनी, असार २२ : उच्च ज्वरो आउने, टाउको दुख्ने तथा शरीर दुख्ने समस्या लिएर आएका तीन जनामा डेङ्गी सङ्क्रमण पोजिटिभ भेटिएसँगै म्याग्दीको बेनी अस्पतालमा उपचारका लागि आएका २० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

बेनी अस्पतालमा उपचारका लागि आइतबार आएका दुईजना बिरामीमा आइतबार साँझ र सोमबार एक जनामा डेङ्गुरोग तथा एक जनामा स्क्रब टाईफस पोजिटिभ देखिएको छ ।

बेनी अस्पतालमा उपचारका लागि आएका बेनी नगरपालिका–२, का ५ वर्षीय बालक, बेनी नगरपालिका–५, भिरमुनीका ७२ वर्षीय महिला, छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–१, निवासी ६४ वर्षीया महिलामा डेङ्गु र बेनी नगरपालिका–७, का ४१ वर्षीय पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।

योसँगै बैशाख महिनायता डेङ्गुको २० जना र स्क्रबटाइफसका ८ जना सङ्क्रमितहरू भेटिएको बेनी अस्पतालका सूचना अधिकृत प्रकाश सुवेदीले बताउनुभएको छ ।

मुसामा हुने किर्ना जस्तो परजीविबाट सर्ने स्क्रब टाइफस र एडिक एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट डेङ्गु रोग सर्दछ । मुसामा हुने परजीवीलाई एक प्रकारको माइट जातिको सुक्ष्म कीराको माध्यमले स्क्रब टाइफस मानिसमा सर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया