कोरोना रोकथाम सूचकाङ्क : सार्कका केही देशको तुलनामा नेपाल अगाडि

  असार २२, २०७७

काठमाडौँ, असार २२ : नेपालमा कोरोना सङ्क्रमडबाट मृत्यु भएकाको तथ्याङ्क विश्लेषण गर्दा जनाको मृत्युदर प्रति दश लाखमा एक रहेको छ । पीसीआर परीक्षण प्रति दशलाखमा आठ हजार ६२५ जनाको गरिएको छ ।

तर छिमेकी मुलुक भारतमा प्रतिदशलाख १४ जनाको मृत्युदर रहेको छ । बङ्गलादेशमा प्रतिदशलाख १२ जना, श्रीलङ्कामा पाँच जना र पाकिस्तानमा प्रतिदशलाख २१ जनाको मृत्युदर कायम रहेको छ । नेपालमा भन्दा भारतमा पीसीआर परीक्षण कमजोर रहेको देखिन्छ । त्यहाँ प्रति दश लाख सात हजार ९३ जनाको मात्र परीक्षण भएको छ । त्यस्तै बङ्गलादेशमा प्रति दश लाख पाँच हजार १५५ जनाको, श्रीलङ्कामा प्रति दशलाख पाँच हजार १६० जनाको र पाकिस्तानमा छ हजार ३३० जना प्रति दशलाख पीसीआर परीक्षणको दर रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको आजदेखि सुरु भएको छैटाैँ राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले याे जानकारी दिनुभएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा आयोजित यस स्वास्थ्य तथा जन सङ्ख्या वैज्ञानिकहरूको छैटाैँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ढकालले नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आफ्नो स्थापनाकालदेखि स्वास्थ्यका विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धानद्वारा समग्र स्वास्थ्य क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दैआएको बताउनुभएको छ ।

स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन र प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधाहरूमा अनुसन्धान हुन जरुरी रहेको उहाँले औँल्याउनुभयो ।

परिषदले स्वास्थ्यका महत्त्वपूर्ण क्षेत्रहरूको पहिचान गरी प्राथमिकताका आधारमा रहेर ती क्षेत्रहरूमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको जानकारी उहाँले दिनुभयो ।

स्वास्थ्यमन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहकार्यमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दैआएको छ र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि स्वास्थ्य मन्त्रालय सदैव तत्पर रहने प्रतिबद्धता मन्त्री ढकालले व्यक्त गर्नुभयो ।

त्यसैगरी अहिलेको कोभिड–१९को महामारीको सम्बन्धमा नेपाल सरकारले निरन्तर रुपमा यसको विरुद्ध खटिरहेको स्पष्ट पार्नुभयो । सुरुवातमा परीक्षणको लागि एउटा मात्रै प्रयोगशाला रहेकोमा अहिले यो सङ्ख्या बढाएर २५ पुगिसेको र अझै विस्तार हुने क्रममा रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार नेपाल सरकारले कोभिड-१९ को नियन्त्रणका लागि लकडाउन, सामाजिक दूरी, वैज्ञानिक तथ्यमा आधारित जानकारीहरू निरन्तर रुपमा आम जनताको प्रत्यक्ष पहुँचमा पुग्नेगरी प्रवाह गर्ने जस्ता रणनीतिहरू अपनाउँदैआएको छ । साथै प्रभावित व्यक्तिहरूको सुरक्षा र स्वास्थ्य सेवाको समान पहुँचको सुनिश्चितता र मानवीय सिद्धान्तहरूको उच्चतम अभ्यास भएको छ ।

हालसम्म नेपाल सरकारबाट भइरहेको कार्यलाई आमजनताले सहयोग गर्दैआएका र भविष्यमा सरकारको तर्फबाट आवश्यकता अनुसार थप कार्यक्रमहरू गराउँदैजाने योजना लिएको मन्त्री ढकालको भनाइ छ । त्यसका लागि सबैले ऐक्यबद्ध भई एकजुट रुपमा महामारीविरुद्ध लड्न आह्वानसमेत गर्नुभयो । हालसम्म विश्वव्यापी रुपमा सङ्क्रमण एक करोड १५ लाख ५६ हजार ७८८ जनामा देखिएको छ । नेपालमा भने १५ हजार ७८४ जना सङ्क्रमित रहेका छन्यो ।

तपाईको प्रतिक्रिया