भारी वर्षापछिको बाढीमा जापानमा २० जनाको मृत्यु

  असार २१, २०७७

काठमाडौँ, असार २१ : दक्षिणी जापानमा भारी वर्षापछि आएको बाढीले कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढीमा दर्जनौँ हराइरहेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बाढीमा कुमो गाउँस्थित एक वृद्धाश्रम पूर्णरुपमा ढल्न जाँदा वृद्धाश्रममा रहेका करिब एक दर्जन वृद्धको उद्धार हुन सकेको छैन ।

कुमामोटो क्षेत्रमा उद्धारका लागि दश हजारभन्दा बढी सेनासहित समुद्री तट रक्षक जुटेका छन् । कुमा नदी वरिपरिको अधिकांश स्थल डुबानमा परेको छ । उक्त क्षेत्रका भवन तथा घरहरू छानासम्म डुबेका छन् ।

बाढी प्रभावित कागोशिमा र कुमामोटो क्षेत्रका करिब ७५ हजार सर्वसाधारणलाई सुरक्षित स्थलमा सारिएको छ । कुमामोटो क्षेत्रका करिब छ हजारभन्दा बढी घरमा आइतबारसम्म विद्युत आपूर्ति हुन सकेको छैन ।

जापानी मौसम विभागका अनुसार प्रतिघण्टा एक सय मिलिमिटरभन्दा बढी वर्षाले बाढी निम्त्याएको हो ।

तपाईको प्रतिक्रिया