प्रधानमन्त्रीको मन्त्रीहरुसँगको बैठक सम्पन्न्न, वर्तमान परिस्थितिबारे जानकारी

  असार २०, २०७७

काठमाडौं, असार २० : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको मन्त्रिमण्डलका मन्त्री तथा राज्यमन्त्रीहरुसँग गर्नुभएको बैठक सम्पन्न भएको छ ।

शनिबार साँझ बालुवाटारमा भएको करिब एक घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक परिस्थितिबारे जानकारी गराउनुभएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

“प्रधानमन्त्रीज्यूले बोलाउनुभयो, हामी सबै गयौं तर मन्त्री परिषदको बैठक थिएन, अनौपचारिक बैठक मात्र थियो,” मन्त्री त्रिपाठीले भन्नुभयो । पार्टीको आन्तरिक विवादका कारण केही समस्या उत्पन्न भएकोभन्दै प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक परिस्थितिबारेमा मन्त्रीहरुलाई जानकारी गराउनुभएको मन्त्री त्रिपाठीले बताउनुभयो ।

“देश कोरोना कहरमा छ, मुलुकको अर्थतन्त्र समस्यामा छ, यस्तोबेलामा पार्टीको आन्तरिक समस्या चुलिएको छ” प्रधानमन्त्री ओलीले बैठकमा जानकारी गराउनुभएको त्रिपाठीले बताउनुभयो । यस संकटपूर्ण अवस्था सल्टाउन आफू प्रयासरत रहेको र सबैलाई आफ्नो ठाउँबाट प्रयास गर्न पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको त्रिपाठीले जानकारी दिनुभयो ।

 “राष्ट्रपतिसँगको छलफलबारेमा मिडियामा ठूलो समाचार आयो तर विषय सामान्य हो” भन्नुहुँदै प्रधानमन्त्री ओलीलाई उढृत गर्दै मन्त्री त्रिपाठीले थप्नुभयो, “राष्ट्रपतिसँग सामान्य भेटघाट हो, राजनीतिक अवस्थाबारेमा जानकारी गराउने काम मात्र भयो, तर मिडियामा के के न हुनलाग्यो भन्ने ढङ्गले समाचार आयो ।”

राष्ट्रपतिसँग भेटघाट लगत्तै बालुवाटारमा सबै मन्त्रीहरुलाई प्रधानमन्त्रीले आमन्त्रण गर्नुभएपछि ठूलै निर्णय हुनलागेको अडकल बाहिर गरिएको थियो । प्रधानमन्त्री ओली शितलनिवासमा पुग्नुभएका बेला उता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका केही नेताहरुको बैठक खुमलटारमा भएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया