शनिबारदेखि लमजुङमा लकडाउन थप कडाइ

  असार २०, २०७७

लमजुङ, असार २० : लमजुङमा शनिबारदेखि लकडाउनलाई थप कडाइ गरिएको छ । जुनसुकै समय सञ्चालन हुँदैआएको जिल्लाभित्रका पसलहरू अब दैनिक पाँच घण्टा मात्र खुला गरिएकोे छ । लमजुङमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना जोखिम रहेको भन्दै प्रशासनले लकडाउनलाई कडाइ गरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार अत्यावश्यक सेवा बाहेकका सबै प्रकारका पसलहरू बिहान ५ बजेदेखि मध्यान्ह १२ बजेसम्म मात्र खुला गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले अत्यावश्यक सेवाबाहेक सबै पसलहरू बिहान ५ बजेदेखि मध्यान्ह १२ बजेसम्म खोल्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

अत्यावश्यक सेवा बाहेकका सबै खाले पसलहरूलाई समय तालिका दिएर तोकिएको समयमा पसल खोल्ने निर्णय गरिएको हो । सङ्कट व्यवस्थापन केन्द्र लमजुङका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गरेको हो । पेशा व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका प्रोटोकललाई अनिवार्य रुपमा पालना गर्ने/गराउने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ ।

जिल्लाको प्रवेश नाका पाउँदीबाट खाद्यान्न तथा मालबाहक सवारीहरूलाई बिहान १० बजेभित्र र अपरान्ह ४ बजेपछि मात्रै प्रवेश अनुमति दिने निर्णय गरिएको छ । अत्यावश्यक कामका लागि सवारी अनुमति दिइएकाबाहेक अन्य सवारी साधनहरू सञ्चालन गर्न नदिने र जिल्लामा सञ्चालन हुने सवारीलाई जोर बिजोर प्रणाली कडाइका साथ लागू गर्ने निर्णय गरिएको छ ।

अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन, हिँड्डुल नगर्न र भिडभाड नगर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया