कोरोनाबाट गोरखा र रुपन्देहीका दुई जनाको मृत्यु, मृतक संख्या ३४ पुग्यो

  असार २०, २०७७

काठमाडौँ, असार २० : कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा शनिबार थप दुईजना सङ्क्रमितको मृत्युको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रुपन्देही र गोरखाका दुईजनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार गोरखाका पालुङटारका पुरुषको शनिबार बिहान मृत्यु भएको बताउनुभयो । असार १७ गते कतारबाट फर्किएका उहाँको उपचारको लागि भर्ना गराइएकोमा असार २० गते बिहान मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी, रुपन्देही देवदहका एकजनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएकोमा उहाँमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो । क्षयरोगका बिरामी ७५ वर्षीय पुरुष उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँमा असार १८ गते कोरोना सङक्रमणको पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमित थप दुईजनाको मृत्यु भएसँगै नेपालमा भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ ।

तपाईको प्रतिक्रिया