खप्तड छेडेदहका थप ४६ जनामा कोरोना पुष्टि

  असार २०, २०७७

बाजुरा, असार २० : बाजुराको खप्तड छेडेदह गाउँपालिकामा थप नयाँ ४६ जनामा कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा बाजुरा खप्तड छेडेदह गाउँपालिकाका थप नयाँ ४६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

पुष्टि हुनेमा खप्तड छेडेदह वडा नं. १ का १६ जना, वडा नं. २ का १४ जना, वडा न. ३ का १ जना, वडा नं ४ का १ जना, वडा नं ५ का ९ जना, वडा नं ७ का ५ जना, गरि १२ महिला र ३४ जना पुरुष रहेका छन् । उहाँहरु सबै जेठ ९ गते भारतबाट आएर गाउँपालिकाको विभिन्न क्वारेन्टाइन बस्दै गरेका थिए । उहाँहरुको असार ४ गते स्वाब सङ्कलन गरि परीक्षणका लागि धनगढी पठाइएको थियो । यसअघि असार १६ गते शिक्षण अस्पताल महाराजगञ्जबाट गरिएको परीक्षणमा पनि खप्तड छेडेदह गाउँपालिकाका ७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

वडा नं २ का ५ जना, वडा नं ५ का १ जना, वडा नं ३ का १ जना गरि ७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइन बसेका उहाँहरुको असार १२ गते स्वाब सङ्कलन गरि परीक्षणका लागि धनगढी पठाएको थियो । यो सँगै खप्तड छेडेदह गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५३ पुगेको खप्तड छेडेदह गाउँपालिका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले बताउनुभयो ।

उहाँका अनुसार ७ वडा मा भएको यो गाउँपालिकामा ६ वडाकै ५३ जना कोरोना पुष्टि भएका छन् । खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले भन्नुभयो, पीसिआर परीक्षणमा कोरोना पुष्टि भएका ५३ जनामा केही क्वारेन्टाइनमा बसेको र केही भने रिपोर्ट आउन ढिलाइ भएकाले होम क्वारेन्टाइनमा बस्दै आएका छन् ।

उहाँले भन्नुभयो, होम कवारेन्टाइनमा बस्दै गरेकाहरुलाई थप कोरोना सङ्क्रमणको चिन्ह, लक्षण देखा परेमा वा उहाँहरु बिरामी भएमा त्यसको व्यवस्थापनका लागि मश्टेश्वरी माविको चारकोठामा २० बेडसहितको आइसोलेसनको तयारी अवस्थामा रहेको छ ।

यो गाउँपालिका सँगै बाजुराका अन्य पालिकामा पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा दिनप्रति दिन वृद्धि हुँदै गएको छ । भारतबाट आएकाहरुको धमाधम स्वाब सङ्कलन सुरु गर्दै पीसिआर परीक्षणको रिपोर्ट आउन थालेपछि बाजुराका ८ वटा पालिकाकै कोरोना सङ्क्रमितको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको हो ।

योसँगै बाजुराका बडिमालिका नगरपालिकामा ५८ जना, बुढीगङ्गा नगरपालिकाका २२९ जना, त्रिवेणी नगरपालिकाका १०२ जना, गौमुलका २३ जना, जगनाथका १ जना स्वामिकार्तिका २ जनामा गरि बाजुरामा ४९१ जना सङ्क्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया